किन मनाइन्छ थारू समुदायमा अटवारी

लक्की चौधरी

थारु अत्वारी पर्व आइतबारबाट अपभ्रंश हुँदै अतवारी, अटवारी अर्थात् अत्वारीको रुपमा स्थापित भयो । आइतबार पर्ने पर्व भएकाले त्यो नाम जुरेको मान्न सकिन्छ । नेपाली भित्तेपात्रोले अझै यो पर्वलाई चिन्दैन । त्यसैले यो पर्वको तीथिमा एकरुपता हुन सकिरहेको छैन । यो पर्व नितान्त थारु समुदायको मौलिक पहिचान बोकेको पर्व हो । हरेक वर्ष भाद्र महिनामा पर्ने यस पर्व कृष्णजन्माष्टमी पछिको दोस्रो आइतबार मनाइँदै आएको छ । परम्परागतरुपमा मनाइने यो पर्वको तीथिमा अघिल्लो पछिल्लो आइतबार हुने गरेको छ । कोही थारुले कृष्णजन्माष्टमीपछिको पहिलो आइतबार त कोहीले दोस्रो आइतबार मनाएको देखिन्छ । भित्तेपत्रोमा तीथि कायम गर्न नसक्नु र तीथि बनाएर प्रचार प्रसार गर्न नसक्नुको परिणाम हो त्यो । यस वर्ष भदौ १२ गते आइतबारको दिन आज अत्वारी पर्व मनाइँदैछ । एकिन तीथिको अभावमा स्थानीय सरकारले दिने विदामा पनि अलमल देखिदैआएको छ । यस वर्ष पनि १२ गते आइतबार हो कि १९ गते आइतबार हो अटवारी भनेर स्थानीय सरकार अलमलमा परेको देखियो । यद्यपि समयमै थारु अगुवाहरुले १२ गतेको आइतबार नै अटवारी हो भनेर एकीन गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक विदा प्रदान गरेको छ । त्यस्तै, लुम्बिनीमा पालिकास्तरमा पनि थारु समुदायलाई सार्वजनिक विदाको व्यवस्था मिलाइएको देखियो ।

थारु पुरुषहरुले वर्षको एकदिन व्रत बस्छन् । त्यो पर्व नै अत्वारी हो ।

पश्चिम तराईका थारुबहुल जिल्लामा यो पर्व धुमधामकासाथ मनाइन्छ । थारु पुरुषहरुले वर्षको एकदिन व्रत बस्छन् । त्यो पर्व नै अत्वारी हो । थारु महिलाहरुले कृष्णजन्माष्टमी अर्थात् अष्टिम्कीमा व्रत बस्छन् । तीज पर्व थारु समुदायको परम्परागत पर्व होइन । जहाँ नेपाली महिलाले व्रत बसी परिवारका सदस्यहरुको दीर्घायुको कामना गर्दै मनाउँछन् । थारु पुरुषहरुले अत्वारीमा र महिला अष्टिम्कीमा निराहर व्रत बसी परिवारका सदस्यको दीर्घायु र सुस्वास्थ्यको कामना गर्छन् । तर पूर्वीया थारुले अत्वारी पर्व मनाउँदैनन् । त्यहाँ त्यही प्रकृतिको पर्व ‘रैव मनाइन्छ । खासगरी पश्चिम नेपालका सुर्खेत, दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुर गरी छ जिल्लामा अटवारी विशेष रुपले मनाएको देखिन्छ ।

थारु उत्पत्तिबारे बडो रोचक मिथक (किंवदन्ती) छ । थारु समुदाय शिव भगवानका उपासक मानिन्छन् । यसो भनिरहँदा थारु समुदाय हिन्दू धर्मावलम्बी हुन् भन्ने अर्थ लाग्छ । थारुका देवीदेवता र उच्चारण गरिने थारु मन्त्रले पनि थारुहरु हिन्दूवादी हुन् भन्ने स्पष्ट संकेत गर्छ । तर आजभोलि केही अगुवाहरुले थारु समुदाय हिन्दू नभएर बौद्ध धर्मालम्बी हुन् भन्ने तर्क गर्न थालिएको छ । गौतम बुद्ध पनि थारुकै सन्तान थिए भन्ने तर्क देखिन्छ । यद्यपि यस विषयमा अझै अध्ययन र खोजको आवश्यकता छ ।
‘मानवको उत्पत्ति हुनुअघि माता पार्वतिलाई गुडिया खेलाउने निकै सोख थियो । एकदिन पार्वतिले दुईवटा गुडियासँग खेलिरहेकाबेला घरमा शिवको आगमन भयो । पार्वतिले लुकिछिपी गुडियासँग खेल्थिन् । शिवलाई देखेपछि उनी लजाइन् र गुडिया कपडामा लुकाइन् । शिव भोकाएका थिए । पार्वतिलाई खाना पस्कन भने । पार्वतिले थालमा खाना पस्केर शिवलाई दिनेबेलामा लुकाइएका दुईवटा गुडिया अचानक शिवको थालमा खसेछन् । महादेव आश्चर्यमा परे । पार्वतिले माफी माग्दै विनम्रपूर्वक महादेवसँग ती गुडियालाई मानव बनाइदिन आग्रह गरिन् । महादेवले पार्वतिलाई औधि माया गर्थे । उनको आग्रहलाई अस्वीकार गर्न नसकेर भगवान शिवले दुईटै गुडियालाई पुरुष र महिलाको रुपमा मानव बनाइदिए । ती दुवै गुडिया थालमा खसेकाले थालु हुँदै अपभ्रंश भएर थारु हुन गए भन्ने विश्वास गरिन्छ ।

मिथकले थारु जातिको उत्पत्ति र आदिमबासीको अर्थ दिन्छ । यसमा कति सत्यता छ, यसै भन्न सकिदैन। यसबारे थप खोज र अध्ययनको खाँचो रहन्छ । कतिपय किंवदन्तीका आधारमा समाजले आफ्नो संस्कार संस्कृतिको विकास गरेको छ, कतिपय किंवदन्तीलाई अङ्गिकार नगरेर मिथककै रुपमा प्रयोग गर्दैआएको छ । महाभारत लडाई पनि एउटा मिथक नै हो । तर त्यसलाई सत्य कथाको रुपमा व्याख्या गरिदैआएको छ ।

थारु पूर्खाहरुले यस पर्वलाई जिवन्त राखेर मनाउँथे, आजका युवाहरुले सो अनुसार मनाएको देखिदैन ।

थारु समुदाय आदिम समुदाय हो यसमा दुई मत छैन । तर थारुले मनाउने यस अत्वारी पर्वको शुरुवात कहिलेदेखि भयो, प्रमाण पुष्टि छैन । यो त परापूर्वकालदेखि चल्दै आएको पर्व हो भन्नुबाहेक अर्थोक गहकिलो तर्क छैन । परम्परागतरुपमा मनाइँदै आएको अत्वारी पर्वप्रतिको विश्वास र यसको गरिमामा भने अवश्य आँच पुगेको छ । जसरी थारु पूर्खाहरुले यस पर्वलाई जिवन्त राखेर मनाउँथे, आजका युवाहरुले सो अनुसार मनाएको देखिदैन । यसको पछाडि अनेक कारण हुन सक्छन् । समय बदलियो, मानिसको स्वभाव र प्रबृत्ति बदलिए । समयको अन्तरालसँग चालचलन मनाउने तौरतरिका बदलिदै गए । आजका युवाहरु पुर्खाको चालचलन हुबहु अङ्गीकार गर्न नसक्नुको कारण पनि त्यही हो । यद्यपि पुर्खादेखिएको चाल चलन, संस्कारलाई मनाउनुपर्छ भन्ने चेत भने युवामा देखिन्छ ।

महाभारत प्रसङ्ग
अत्वारी पर्वमा थारुहरुले व्रत बसेर कुन्तीपुत्र भीमसेनको उपासना गर्छन् । अर्थात् महाभारतका एक बलसाली पात्र मानिने वायुपुत्र भीमको पूजापाठ गरी अत्वारी मनाइने गर्छन् । सँगसँगै यस पर्वमा थारुले सूर्य भगवानको पनि उसापना गर्छन् । यी दुवै पात्रको सम्बन्ध भगवान शिव, विष्णु, राम, कष्ण, हनुमानसँग छ । त्यसैले पनि थारु हिन्दू हुन् भन्ने तर्क यसबाट गर्न सकिन्छ । महाभारत कथाअनुसार भीमको प्रत्यक्ष सम्बन्ध कृष्णसँग देखिन्छ । पाँच पाण्डवलाई भगवान कृष्णले महाभारत कथामा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका थिए । भगवान कृष्णकै चाहनाअनुसार नै महाभारत लडाई सम्पन्न भयो । अधर्ममाथि धर्मको विजय, असत्यमाथि सत्यको विजय प्राप्त गर्न कृष्ण भगवानले तीनै पाँच पाण्डुलाई साथ दिएका थिए । त्यसैले भीम कुनै साधारण व्यक्तित्व थिएनन् । थारु समुदायले भीमलाई कृष्ण भगवानकै रुप मानेर पूजापाठ गर्ने गर्छन् । कृषि पेशामा विश्वास गर्ने थारु समुदायले भीमको पूजापाठ गर्नाले भीमसेनकोजस्तो बलशाली, ताकतिलो र कर्तव्यनिष्ठ हुने वर माग्छन् ।

पुनर्मिलनको अवसर
अत्वारी पर्वको एउटा खास विशेषता छ । सबै चाडपर्वमा विवाहित चेलीबेटीलाई माइतीमा ल्याएर मीठो परिकारले स्वगत गरिन्छ । रामरमाइलो गरेर स्वागत गरिन्छ । तर अत्वारी पर्वमा विवाहित चेलीलाई माइतीमा ल्याइँदैन । गक्षअनुसारको उपहार चेलीकै घरमै पुर्‍याइन्छ । थारु पुरुषले व्रत बसिसकेपछि खाने परिकारको एक भाग अग्रआसनमा राख्छन् । अग्रआसनको खानाको पूजापाठ गर्छन । एक भाग आफूले खान्छन् । त्यही अग्रभागमा छुट्याइएको खानेकुरा नै विवाहित चेलीबेटीलाई अग्रासन (कोसेली) को रुपमा चेलीबेटीलाई पुर्‍याइन्छ । सरसर्ती हेर्दा खानेकुराको एक भाग भन्ने देखिन्छ । तर यसको अर्थ खानेकुरामै सीमित छैन । यसको गहिरो अर्थ छ । थारुहरु संयुक्त परिवारमा, एउटै घरमा सयौं सदस्य सँगै बस्छन् । बस्न रुचाउँछन् । त्यसले एकताको सन्देश दिन्छ ।

एउटा बुहारीको माइती पक्षबाट अग्रासन (कोसेली) घरमा पुर्‍याउन आउँदा अर्को बुहारीका माइती पक्षकाले पुर्‍याएनन् भने घरमा त्यसको गलत अर्थ लगाइन्छ । अर्थात् गाउँमा भएका विवाहित चेलीका माइती पक्षका सदस्यले अग्रासन पुर्‍याउन आउँदा एक वा दुई चेलीका माइती पक्षकाले अग्रासन पुर्‍याउन नआउँदा त्यसलाई राम्रो मानिदैन । अर्थात् अग्रासनसँग विवाहित चेली र माइतीपक्षको सम्बन्धको विषय राम्रोसँग गाँसिएको हुन्छ । घरका सबै बुहारीका माइतीबाट अग्रासन आउँदा कुनै एक बुहारीको माइतीपक्षको नआउँदा खल्लो महशुस गरिन्छ । चेली र माइती पक्षकाबीचको सम्बन्धमा तिक्तता आएको हो कि भनेर अड्कल काटिन्छ । त्यसैले विवाहित चेलीलाई अग्रासन अनिवार्य हुन्छ । समाजमा चेली र माइतीपक्षको सुसम्बन्ध यसमा जोडिएको छ । विवाहित चेली वर्षौदेखि माइती आउन नपाएको अवस्थामा अत्वारी पर्वमा उपहार लिएर चेलीको घरमा माइतीका कुनै सदस्य जाँदा विवाहित चेलीलाई निकै खुशी अनुभूति हुनेगर्छ । माइतीलाई स्वागत गर्न चेली आतुर हुन्छिन् । त्यो दिन विहानैदेखि माइतीका सदस्यको बाटो हेरेर चेलीहरु बस्ने गर्छन् । आफ्नो वर्षदिनको सुख, दुःख, प्रगति, पीडा माइतीका सदस्यसँग साट्ने अवसर पनि चेलीले पाउँछिन् । माइती र विवाहित चेलीबीचको पुनर्मिलनको रुपमा यस पर्वलाई हेर्ने गरिन्छ ।

प्रमुख विषय नै विवाहित चेली र माइतीपक्षको भेटघाट र सत्कार सम्मान हो । अत्वारी पर्वले एकअर्का प्रति गरिने सम्मान र सत्कारलाई महत्व दिन्छ ।

समान तौरतरिका
थारु समुदायमा सबै समान आर्थिक हैसियत भएका सदस्य छैनन् । कोही सामान्य परिवारका छन् । कोही मध्यम, कोही एकदम गरिब त कोही एकदम धनी छन् । तर चाडपर्व मनाउने तौरतरिका र अग्रासनको प्रकृति समान छ । चाहे त्यो धनी होस् कि गरिब । महलमा बस्नेले पनि त्यही खानेकुराकै केसेली (अग्रासन) लिएर चेलीबेटीको घरमा पुग्छ । गरिबले पनि त्यही प्रकृतिको उपहार लिएर चेलीलाई दिन्छ । हुनेहरुले गक्षअनुसार आफ्नो चेलीलाई नगद पनि प्रदान गर्छन् । तर अग्रासनलाई पैसासँग दाँज्ने गरिदैन । सबैभन्दा प्रमुख विषय नै विवाहित चेली र माइतीपक्षको भेटघाट र सत्कार सम्मान हो । अत्वारी पर्वले एकअर्का प्रति गरिने सम्मान र सत्कारलाई महत्व दिन्छ ।

सरकारप्रति गुनासो
थारु समुदाय तराईको प्रमुख समुदाय हो । जनसंख्याका आधारमा तराईमा सबैभन्दा बढी थारुको जनसंख्या छ । अत्वारी पर्व आएसँगै हरेक वर्ष थारु अगुवाहरुले सो पर्वमा कम्तिमा एक दिन भएपनि सार्वजनिक विदाको माग गर्दै स्थानीय प्रशासन मार्फत सरकारको ध्यानाकर्षण गर्छन् । तर संघीय सरकारले हालसम्म सुनुवाई गरेको छैन । देशमा संघीयता आएपछि प्रदेश सरकारले अटवारीमा विदा दिन शुरु गरेको छ । खासगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले थारुको मागको सम्बोधन गर्दैआएको देखिन्छ । सरकारले सार्वजनिक विदाको व्यवस्था नगर्दा अटवारी पर्वको महत्व र थारु समुदायको पर्वलाई स्थान सरकारले नदिएको बुझाई थारु अगुवाहरुको रहँदैआएको देखिन्छ ।

तपाईको प्रतिक्रिया