राज्यमन्त्री कुलवीर चौधरी पदमुक्त भएकै दिन एमाले प्रवेश


हमार पहुरा डट कम
धनगढी, भदौ १५ गते । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई प्रदेश सरकारले पदमुक्त गरेकै दिन बुधबार नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । एमालेद्वारा महेन्द्रनगरमा आयोजित कार्यक्रममा चौधरीले पार्टी प्रवेश गर्नुभएको हो ।

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारीमा रहनुभएका चौधरीलाई सो पार्टीकै सिफारिसमा पदमुक्त गरिएको सरकारका प्रबक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका नीजिसचिव कृष्णराज जोशीकाअनुसार राज्यमन्त्री चौधरी नेकपा (एमाले) मा प्रवेश गर्ने सूचना प्राप्त भएपछि सो पार्टीका संसदीय दलका नेता एवम् प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको सिफारिसमा राज्यमन्त्री चौधरीलाई मुख्यमन्त्रीले पदमुक्त गर्नुभएको थियो ।

चौधरी नेकपा (एकीकृत समाजवादी) बाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो । सो दलमा चौधरी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहनुभएको थियो । यसअघि एमालेबाटै निर्वाचन चौधरी एमालेबाट नेता माधवकुमार नेपाल पक्ष बाहिरिएपछि सो दलमा लाग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया