काठमाडौंमा कमलरी बसेकी थारु युवतिको यौन दूव्र्यवहारको प्रयास

एकलाख दुई हजार छसयमा प्रहरीले केस मिलायो


लक्की चौधरी
काठमाडौं, पुस २९ गते । “घरमा सुनसान भयो कि छोप्न खोज्छ, कहिले पछाडिबाट समात्छ, कहिले लोभ देखाउँछ, हैरान भएर मुख खोलेकी हुँ” लामो समयदेखि यौन दूव्र्यवहारमा परेकी एक १८ वर्षिया चौधरी थरकी कमलरी कालीमाटी प्रहरीबृत्तको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा बुधबार बयान दिंदैथिइन् ।

ती कमलरी मिना (नाम परिवर्तन) उन्नाइस महिना अघि ०७१ जेठ ७ गते कैलालीको अत्तरियास्थित मालाखेती गाउँबाट कमलरी बस्न काठमाडौं आएकी हुन् । घरको आर्थिक अवस्था निकै कमजोर रहेको एक पूर्वकमैया परिवारकी उनी माइली छोरी हुन् । काठमाडौंमा बस्ने, घरको सानोतिनो कामगर्ने र विद्यालय पढाइदिने गरी उनलाई कलंकी –६, तीनथानाका बेलबहादुर थापामगर (६०) ले काठमाडौं ल्याइएका थिए ।

“शुरुमा छोरीको जस्तो व्यवहोर गथ्र्यौ, छोरी भन्दै जहाँ पायो त्यही छुन्थ्योे, पछि संवेदनशील अङ्ग समात्न खोजेपछि मैले प्रतिकार गरेकी हुँ” पीडित कमलरीले भनिन् ।

खान, लाउनमा केही समस्या नभएपनि घरमा सुनसान हुनेवित्तिकै आफ्नो छटपटी शुरु हुनेगरेको उनले पीडा सुनाइन् । २०५४ असार ७ गते मालाखेतीमै जन्मिएकी कमलरी असह्य भएपछि साथीको सहयोगमा कालीमाटीको महिला सेलमा गत शुक्रबार उजुरी दिएकी थिइन् ।

थापामगर (६०) को छोराछोरी सबै अष्ट्रेलियामा बस्छन् । श्रीमती राष्ट्रिय बाणिज्य बैंककी रिटायर्ड कर्मचारी हुन् । घरमा कैलाली पहलमानपुरकी एकजना अर्की २८ वर्षिया कमलरी सरिता (नाम परिवर्तन) १४ वर्षदेखि थापामगरको घरमा कमलरी बस्दै आएकी छिन् । प्रमाणपत्रतहमा अध्ययनरत ती कमलरीलाई विदेश पठाइदिने प्रलोभन देखाएर घरमा काम गराइरहेको पीडित कमलरीको भनाई छ ।

कमलरीले त्यस्तो आरोप लगाए पनि थापामगरकी श्रीमती बाला थापामगरले भने त्यसलाई आरोपमात्र ठान्छिन् । आफूले अहिलेसम्म यौन दूव्र्यवहार गरेकोबारेमा कुनै जानकारी नपाएको उनले दावी गरिन् । आफ्नो छोराछोरी सबै विदेशमा रहेकाले घरमा ती दुईजना चौधरी थरकी कमलरीलाई नै छोरीकोरुपमा माया गरेर राखेको उनले दावी गरिन् ।

कमलरी चौधरीको पीडा सुनेपछि कैलालीबाट उनको आमा छोरीलिन काठमाडौं आएकी छिन् । प्रहरी कार्यालयमै भेट भएकी उनको आमाले छोरीलाई पढाइदिने र पारिश्रमिक दिने कबोलअनुसार काठमाडौं पठाएको स्वीकारिन् । “यस्तो समस्या हुन्छ भन्ने हामीलाई के थाहा थियो, छोरीले समस्या सुनाएपछि फिर्ता लैजान काठमाडौं आएकी हुँ” उनले भनिन् ।

कालीमाटी प्रहरी महिला सेलकी प्रमुख पूर्णिमा चन्दले पीडितको उजुरी अनुसार नै कारवाहीको प्रक्रिया अगाडि बढाएको बताउनुभयो । काममा लगाएको दिनदेखिको १९ महिनाको पाउनु पर्ने पारिश्रमिकसहित पीडित किशोरीलाई पुनस्र्थापना गरिएको चन्दले जानकारी दिनुभयो ।

“पीडितले मुद्दा मामिलामा झमेला हुन्छ, म घर फर्किन्छु भनेपछि दुवै पक्षलाई बोलाएर पाउनुपर्ने पारिश्रमिकसहित आफन्तको जिम्मेवारी लगायौं” उहाँले भन्नुभयो ।

पीडित कमलरी किशोरीले दिएको उजुरीको आधारमा कमलरी तथा महिला, बालबालिका क्षेत्रमा कार्यरत सामाजिक संघ संस्था, मानवाधिकारमा महिला तथा बालबालिका (सिविस) र सिविन संस्थाको पदाधिकारीको रोहबरमा किशोरीलाई बुधबार आमाको जिम्मा लगाइएको छ । पीडक थापामगरले ट्रेड युनियनको नियमानुसार पाउने महिनाको पाँचहजार ४ सयका दरले हुन आउने १९ महिनाको एकमुष्ट एकलाख दुईहजार छसय रुपिया कालीमाटीस्थित प्राइम कमर्सियल बैंकमा पीडितकै नाममा खाता खोली पैसा जम्मा गरिदिएका छन् ।

पीडित कमलरीले सोही पैसाले घर फर्केर पढाई सुचारु गर्ने बताइन् । सिविसका कार्यक्रम संयोजक प्रदीप डंगोलले पीडित किशोरी १८ वर्ष पूरा भइसकेकाले बाल यौन शोषणमा मुद्दा चलाउन नबनेको बताउनुभयो । पीडितले चाहेमा सार्वजनिक मुद्दा अगाडि बढ्ने र त्यसको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । तर पीडित किशोरी र उनको आमा भने मुद्दा मामिलाको झन्झटमा लाग्नुभन्दा आफूहरु तत्काल जिल्ला फर्कन चाहेको बताएका छन् ।

SAM_2618

तत्कालिन सरकारले २०७० साल साउन ३ गते कमलरीलाई मुक्त घोषणा गरिसकेको छ । सो अघि २०५७ साउन २ गते कमैयालाई मुक्त घोषणा गरिएको थियो । तथापि लुकीछिपी थारु चेलीबेटीलाई काठमाडौंसहित थारु बहुल जिल्लामा कमलरी राखेर श्रमशोषणको काम भइरहेको सो क्षेत्रमा कार्यरत संघ संस्थाले दावी गर्दैआएका छन् । बालबालिकालाई कमलरी राखी श्रम शोषण गरेमा कानूनअनुसार कारवाही हुने ऐनमा व्यवस्था छ ।

तपाईको प्रतिक्रिया