हमार पहुरा डट कम
तुलसीपुर, भदौ १९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नं. १ बाट महिला नेतृहरु शान्ता चौधरी र गंगा सत्गौंवा थारुको नाम सिफारिस भएको छ । नेकपा (एमाले) दाङको आइतबार बसेको बैठकले चौधरीद्वय सँगै सोही क्षेत्रबाट रेवतीरमण शर्माको नाम पनि सिफारिस गरेको हो ।
यसअघि दुवै चौधरीद्वय समानुपातिक बाट प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा रहनुभएको थियो । यस पटक पार्टीले कसलाई टिकट दिन्छ सोहीअनुसार निर्वाचनमा होमिने महिला नेत्री तथा एमाले सचेतक शान्ता चौधरीले बताउनुभयो ।
सोहीअनुसार एमाले महासचिव शंकर पोखरेललाई क्षेत्र नं. २ बाट नाम एकल सिफारिस भएको छ । एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासन चौधरीका अनुसार पोखरेलको नाम सर्वसहमतिमा सिफारिस भएको छ ।
महासचिव पोखरेल २०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेश सभाका लागि क्षेत्र २ प्रदेश सभा (ख) बाट निर्वाचित भई मुख्यमन्त्री बन्नुभएको थियो । क्षेत्र नं. १ बाट शान्ता चौधरीलाई टिकट आउने बढी सम्भावना रहेको प्रियासनको भनाइ छ ।