नेपालमा प्रतिनिधिसभा निर्वाचन

सम्पूर्ण विवरण

लक्की चौधरी

लक्की चौधरी

लोकतान्त्रिक व्यवस्थामा निर्वाचनलाई यसको मेरुदण्ड मानिन्छ । मताधिकार प्राप्त प्रत्येक नागरिकलाई आफूले चुनेका जनप्रतिनिधिमार्फत् शासन व्यवस्थामा प्रत्यक्ष तथा परोक्ष सहभागिता जनाउने अधिकार रहन्छ । नागरिकले विना डर, गोप्य तरिकाले आफूले इच्छाएको व्यक्ति वा उम्मेदवार छान्न पाउँछन् । त्यसैले निर्वाचन हरेक नागरिकको मताधिकार प्राप्त गर्ने अवसर हो । नागरिकको चित्तबुझ्दो निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको कर्तव्य र दायित्व हो । निर्वाचन निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय हुन नसके नागरिकले रोजेका उम्मेदवार निर्वाचित हुन पाउँदैनन् । सही उम्मेदवार निर्वाचित हुन नपाए देश बनाउने काम ओझेलमा पर्छ । मतदाताको रोजाइका आधारमा जनप्रतिनिधि चयन गर्ने विधिसम्मत प्रक्रिया निर्वाचन हो । निर्वाचनले मतदाताको अभिमतलाई प्रतिनिधिको रुपमा रुपान्तरण गर्छ । त्यसैले जनताले रोजेको उम्मेदवार छान्ने औपचारिक विधि हो निर्वाचन ।

प्रथम निर्वाचन
नेपालमा निर्वाचनको शुरुवात स्थानीय निर्वाचनबाटै भएको थियो । वि.सं. २००४ जेठ २९ गते काठमाडौं म्युनिसिपालिटीको निर्वाचन भएको थियो । यही निर्वाचन नेपालको पहिलो निर्वाचन मानिन्छ । काठमाडौंबासीले आफ्नो प्रतिनिधि आफै छान्न मताधिकारको पहिलो पटक प्रयोग गरेका थिए । २१ वर्ष उमेर पूरा भएका पुरुषले मात्र मतदानमा सहभागी हुने मौका प्राप्त गरेका थिए । श्री ३ महाराज पद्म शमशेर समक्ष महिलालाई पनि मताधिकार प्रदान गर्न आग्रह नागरिकले गरेपनि अवसर प्राप्त गर्न सकेनन् ।

काठमाडौं म्युनिसिपालिटीलाई त्यतिबेला पूर्वमा धोबीखोला, पश्चिममा विष्णुमती, उत्तरमा महाराजगञ्ज र दक्षिणमा बागमती रहेको चार किल्लाभित्र २१ वटा वडा कायम गरिएको थियो । प्रत्येक वडाबाट १ जनाका दरले २१ जना प्रतिनिधि निर्वाचित भएका थिए । सरकारले मनोनित गर्ने १० जना गरी जम्मा ३१ जनाको नगरपालिका बोर्ड रहने व्यवस्था थियो । सरकारले गर्ने मनोनित सदस्यबाट बोर्डको सभापति र निर्वाचित सदस्यबाट उपसभापति छनौट गर्ने व्यवस्थाअनुसार गेहेन्द्र शमशेर थापा सभापति र शंकरदेव पन्त उपसभापति चयन हुनुभएको थियो ।

वि.स. २०१० साल भदौ १७ गते अर्को निर्वाचन भयो । सोही निर्वाचनबाट २१ वर्ष उमेर पुगेका महिलालाई पनि मतदाताको रुपमा सूचीकृत गरियो ।

महिलालाई मताधिकार
वि.सं. २००७ सालमा नेपालमा पहिलो पटक नगरपािलका कानुन तर्जुमा गरियो । सो कानुनले साविकको काठमाडौं म्युनिसिपालिटीलाई पुनरसंरचना गरी १८ वडा कायम गरेको थियो । त्यहीबेलादेखि काठमाडौं म्युनिसिपालिटीलाई काठमाडौं नगरपालिका नाम दिइयो । वि.स. २०१० साल भदौ १७ गते अर्को निर्वाचन भयो । सोही निर्वाचनबाट २१ वर्ष उमेर पुगेका महिलालाई पनि मतदाताको रुपमा सूचीकृत गरियो । निर्वाचनबाट नेपालमा मतदाता र उम्मेदवार हुने अवसर महिलाले पहिलो पटक अवसर प्राप्त गरे । सो निर्वाचनबाट साधनादेवी प्रधान महिला जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुभयो । उहाँ वडा ८ बाट उम्मेदवारी दिई निर्वाचित हुनुभएको थियो । सो वडामा कुल ४११३ मत खसेको थियो । सोमध्ये २४५५ अर्थात् खसेको मतको ५९.६८ प्रतिशत मत ल्याई उहाँ नेपालको इतिहासमा पहिलो महिला प्रतिनिधिको रुपमा निर्वाचित हुने अवसर प्राप्त गर्नुभयो ।

पहिलो प्रतिनिधिसभा निर्वाचन
तत्कालिन नेपाल अधिराज्यको संविधान २०१५ बमोजिम पहिलो पटक संसदीय व्यवस्था स्थापना भएको थियो । संविधानमा तत्कालिन श्री ५ महाराजधिराज र महासभा तथा प्रतिनिधिसभा नामका दुई सदनात्मक व्यवस्थाको सदन रहने व्यवस्था थियो । प्रतिनिधिसभामा १०९ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था थियो । महासभामा प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने १८ जना र श्री ५ बाट मनोनित हुने १८ जना गरी कुल ३६ जना रहने व्यवस्था थियो । प्रतिनिधिसभाको पहिलो निर्वाचन २०१५ फागुन ७ बाट शुरु भएर २०१६ वैशाख २१ गते सम्पन्न भयो । नेपालको इतिहासमा पहिलो प्रतिनिधिसभा निर्वाचन यही थियो । सो निर्वाचनमा २१ वर्ष उमेर पूरा भएका मतदाता नामावलीमा नाम समावेश भएका ४२ लाख ४६ हजार ४६८ मतदातामध्ये १७ लाख ९१ हजार ३०१ जनाले मतदान गरेका थिए ।

पहिलो आम निर्वाचनमा विभिन्न ९ वटा राजनीतिक दलले भाग लिएका थिए । दलको तर्फबाट ५१८ जना र स्वतन्त्रबाट २६८ जना उम्मेदवारले भाग लिए । तथापि दलको तर्फबाट १०५ र स्वतन्त्रबाट ४ जना गरी १०९ जना निर्वाचित भए । सो निर्वाचनमा नेपाली कांग्रेसबाट ७४ जना, नेपाल राष्ट्रबादी गोरखा परिषदबाट १९ जना, संयुक्त प्रजातान्त्रिक पार्टी नेपालबाट ५ जना, नेपाल कम्युनिष्ट पार्टीबाट ४ जना, नेपाल प्रजा परिषद आचार्य गुटबाट २ जना, नेपाल प्रजापरिषद मिश्र गुटबाट १ जना र स्वतन्त्रबाट ४ जना निर्वाचित भए । तराई कांग्रेस, नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक महासभा दलको तर्फबाट उम्मेदवारी दिएका कोही उम्मेदवार निर्वाचित हुन सकेनन ।

पहिलो महिला सांसद
बि.सं. २०१६ वैशाख २१ गते सम्पन्न पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट डडेल्धुरामा द्वारिकादेवी ठकुरानी निर्वाचित हुनुभयो । उहाँले ३९०३ मत प्राप्त गरी निर्वाचित हुनुभयो । आम निर्वाचनपछि गठन भएको मन्त्रिमण्डलमा उहाँलाई उपमन्त्रीको जिम्मेवारी दिइएको थियो । ठकुरानी नै नेपालको इतिहासमा पहिलो निर्वाचित महिला सांसद र मन्त्रीमा आफ्नो नाम दर्ज गराउन सफल हुनुभयो ।

दोस्रो प्रतिनिधिसभा निर्वाचन
तत्कालिन नेपाल अधिराज्यको संविधान २०४७ जारी भएपछि २०४८ वैशाख २९ गते दोस्रो प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको थियो । यस निर्वाचनमा २० वटा राजनीतिक दलले भाग लिएका थिए । तर आठ दलले मात्र विजय निकाल्न सफल भए । दलको तर्फबाट ११२६ र स्वतन्त्रबाट २१९ जना उम्मेदवारी दिएका थिए । दलको तर्फबाट २०२ र स्वतन्त्रबाट ३ जना गरी २०५ जना निर्वाचित भए । सो निर्वाचनमा नेपाली कांग्रेसबाट ११०, नेकपा (एमाले) बाट ६९, संयुक्त जनमोर्चाबाट ९, नेपाल सदभावना पार्टीबाट ६, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) बाट ३, नेपाल मदजुर किसान पार्टीबाट २, नेकपा (प्रजातान्त्रिक) बाट २, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) बाट १ र स्वतन्त्रबाट ३ जना निर्वाचित भएका थिए । सो निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७७७ मतदाता मध्ये ७२ लाख ९१ हजार ८४ जनाले मात्र मतदान गरेका थिए । मतदानका लागि ७३९१ मतदान केन्द्र र ६६३० उपकेन्द्र निर्धारण गरिएको थियो ।

तेस्रो प्रतिनिधिसभा निर्वाचन
२०४८ वैशाख २९ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको पदावधि नसकिदै २०५१ कात्तिक २९ गते अर्को निर्वाचन भएको थियो । नेपालमा यो तेस्रो प्रतिनिधिसभा निर्वाचन थियो । सो निर्वाचनमा ६५ वटा राजनीतिक दलले निर्वाचनका लागि दल दर्ता गराए । तर २४ वटा दलले निर्वाचनमा सहभागी भए । पाँच दलबाट मात्र उम्मेदवार निर्वाचित भए । दलको तर्फबाट १०५७ जना र स्वतन्त्रबाट ३८५ जनाले उम्मेदवारी दिए पनि दलको तर्फबाट १९८ र स्वतन्त्रबाट ७ जना गरी २०५ जना निर्वाचित भए । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड २३ लाख २७ हजार ३२९ रहे पनि ७६ लाख २५ हजार ३४८ जनाले मतदान गरेका थिए । सो निर्वाचनमा नेकपा (एमाले) बाट ८८ जना, नेपाली कांग्रेसबाट ८३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २० जना, नेमकिपाबाट ४ जना, नेपाल सदभावना पार्टीबाट ३ जना र स्वतन्त्रबाट ७ जना निर्वाचित भए ।

चौथो प्रतिनिधिसभा निर्वाचन
चौथो प्रतिनिधिसभा निर्वाचन दुई चरणमा भएको थियो । २०५६ वैशाख २० र जेठ ३ गते निर्वाचन सम्पन्न भयो । निर्वाचनका लागि एकसय वटा राजनीतिक दलले दल दर्ता गरे पनि ४० दलले भाग लिए । दलको तर्फबाट १६०५ र स्वतन्त्रबाट ६३३ जनाले उम्मेदवारी दिए पनि स्वतन्त्रबाट कोही निर्वाचित भएनन् । सो निर्वाचनमा नेपाली कांग्रेसबाट १११, नेकपा (एमाले) बाट ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११, नेपाल सदभावना पार्टीबाट ५, राष्ट्रिय जनमोर्चाबाट ५, संयुक्त जनमोर्चाबाट १, र नेमकिपाबाट १ गरी २०५ जना निर्वाचित भए ।

पाँचौ प्रतिनिधिसभा निर्वाचन
२०७४ मंसिर १० र २१ गते दुई चरणमा पाँचौ प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । गणतन्त्र स्थापना पछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन पनि यही थियो । यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ५५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ राजनीतिक दल सहभागी भए । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ९ वटा दल र समानुपातिक तर्फ ५ वटा दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरे । सो निर्वाचनमा नेकपा (एमाले) बाट पहिलो हुनेतर्फ ८० र समानुपातिक तर्फ ४१ गरी १२१, नेपाली कांग्रेसबाट २३ र ४० गरी ६३, माओवादी केन्द्रबाट ३६ र १७ गरी ४३, राजपाबाट ११ र ६ गरी १७, फोरम नेपालबाट १० र ६ गरी १६, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पहिलो हुनेतर्फ १, नेमकिपाबाट पहिलो हुनेतर्फ १, जनमोर्चाबाट पहिलो हनेतर्फ १, नयाँ शक्ति पार्टीबाट पहिलो हुनेतर्फ १ र स्वतन्त्र १ गरी १६५ जना पहिलो हुनेतर्फ र ११० जना समानुपातिक तर्फ गरी २७५ जना निर्वाचित भएका थिए ।

दलहरुले गठजोड गरे पनि निर्वाचनमा मतदाताले स्वतन्त्र र गोप्यरुपमा मतदान गर्छन् । त्यसैले निर्वाचनमा मतदाता नै निर्णायक हुन्छन् । कसलाई स्थापित गर्ने र विस्थापित गर्ने निर्णय जनताको हातमा हुन्छ ।

छैठौं प्रतिनिधिसभा निर्वाचन
सरकारले छैठौं प्रतिनिधिसभा निर्वाचन २०७९ मंसिर ४ गतेका लागि एकै चरणमा गर्नेगरी तय गरेको छ । तयारी निर्वाचन आयोगले युद्धस्तरमा गरिरहेको छ । राजनीतिक दलका नेताहरु निर्वाचनमा विजयी निकाल्न गठजोडको अभ्यासमा छन् । अब हेर्न बाँकी छ, निर्वाचनमा कुन दलले विजयी निकाल्न सफल हुन्छन् । दलहरुले गठजोड गरे पनि निर्वाचनमा मतदाताले स्वतन्त्र र गोप्यरुपमा मतदान गर्छन् । त्यसैले निर्वाचनमा मतदाता नै निर्णायक हुन्छन् । कसलाई स्थापित गर्ने र विस्थापित गर्ने निर्णय जनताको हातमा हुन्छ ।

तपाईको प्रतिक्रिया