थारु समुदायमा प्रतिभाको खोजी गर्दै थारु कला केन्द्र


हमार पहुरा डट कम
उर्लाबारी, असोज ८ गते । नोवेल थारु आइकनको तेस्रो संस्करण शनिबार मोरङको सुन्दरहरैचा –१ हरैचामा सुरु भएको छ । थारु समूदायका युवाको प्रतिभा छनौट गर्न थारु कला केन्द्र विराटनगरले कार्यक्रमको आयोजना गरेको हो ।

हरैचाको सामूदायिक सभा हलमा आइकनका प्रमुख प्रायोजक नोवेल शिक्षण अस्पतालका अध्यक्ष डा. सुनीलकुमार शर्माले कार्यक्रमको उदघाटन गर्नुभयो । सन् २०१८ देखि सुरु भएको प्रतिभा छनौट कार्यक्रम पछिल्ला दुई वर्ष कोभिडका कारण आयोजना हुन सकेको थिएन ।

झापा, मोरङ, सुनसरी, उदयपुर र सप्तरी जिल्लाका थारु समूदायका युवालक्षित प्रतिभा खोजी कार्यक्रममा २३ महिला र १८ पुरुष गरी ४१ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार र २० हजार नगदसहित ताज प्रदान गरिने आयोजकले बताएको छ ।

त्यस्तै, उत्कृष्ट हुने महिला र पुरुषलाई एक साता दुबई भम्रणको ब्यवस्था गरिने आयोजक समितिका सदस्य लीलानाथ गच्छदारले बताउनुभयो । शनिबार छनौट भएका उत्कृष्ट प्रतिभाले आगामी असोज १६ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तराईमा बसोवास गर्ने थारु समूदायका अगुवाले कार्यक्रम आफ्नै समूदायका प्रतिभाको खोजीका लागि आयोजना गरिएको बताउनुभयो ।

थारु कला केन्द्रका अध्यक्ष बीएन चौधरीको सभापतित्वमा भएको कार्यक्रममा कमल चौधरी, जनक चौधरी, प्रकाश चौधरी र विशाल चौधरी निर्णायकको भूमिकामा हुनुहुन्छ । कार्यक्रममा अधिकांश प्रस्तुति थारु भाषामा नै भइरहेका छन् ।

तपाईको प्रतिक्रिया