पितृहरुको सम्झनामा मध्यतराईका थारु समुदायले यमोसा पर्व मनाउँदै


हमार पहुरा डट कम
भरतपुर, असोज ९ गते । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व भव्यताकासाथ मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।

यमोसा पर्व दुई दिनसम्म मनाइने गरिएको थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिनुभयो । सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उहाँले बताउनुभयो । यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ । थारू समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन् । यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको अध्यक्ष चौधरीले बताउनुभयो । यमोसामा चाहिने माछा अघिल्लो दिन नै मार्ने चलन छ ।

दोस्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुष आफूले देखेका दाभी (सिरु) काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । कुचोलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ ।

पहुनीलाई विभिन्न थरिका फूलहरूले सिङ्गारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बूढाबूढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसपछि गच्छअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि त्यस वर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने प्रचलन रहेको छ ।

छाकी चढाइसकेपछि मात्र खानपिन सुरु हुन्छ । सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाइ सम्मानका साथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई पितरी बेठोइ भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आफूले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाइ काइँयोले कोरिदिने र फूल सिउरीदिने चलन छ । त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई पितृपित्राइन बिदाइ भनिन्छ ।

उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाइन्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रूपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । यस्तै यमोसकै दिन गाउँका सबैजना एकै ठाउँमा भेला भइ पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच– छवटा पिङ लगाइन्थ्यो । यस्तै युवाहरूले साँझपख गाउँको बाटोमा म्वार्हा गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् ।

बेलुकीपख बालबालिका तथा युवायुवतीहरू समूह–समूहमा मिलेर घर–घरमा यमोसा खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन् । पछिल्लो समय मौलिक थारू लोकगीत, ती म्वार्हा र बरहा, पितरी र पितृपत्रायन, ती पहुनी र छाकी सबै लोप हुन थालेको छ । पर्वको अवसरमा पूर्वी चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।

तराई क्षेत्रमा थारूहरुको बहुल बसोबास छ । यमोसा चितवन र नवलपुरका थारूहरुले मात्रै मनाउँछन् । चितवनमा पूर्वी क्षेत्रमा यमोसाको ठूलो रौनक छ । “यही पर्व मनाउन भनेर विदेश गएका व्यक्ति पनि घर फर्कन्छन्”, थारू अगुवा कारी महतोले भन्नुभयो । थारू समुदायको मुख्य पर्वभित्र परे पनि अचेल यो पर्व ओझेल पर्न थालेको उहाँको गुनासो छ ।

चितवन र नवलपुरका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिक रूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृऔँसी लोप हुने अवस्थामा पुगेकाले यो पर्वलाई संरक्षण र प्रबर्धन गर्ने अभियानसमेत थालिएको छ ।

तपाईको प्रतिक्रिया