
हमार पहुरा डट कम
देउखुरी, असोज २२ गते । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरियामा शुक्रबार राति करिव १० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा लु ४० प ४९२२ नम्बरको मोटरसाईकलमा सवार सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका कार्यरत दुवै जना सशस्त्र प्रहरीको मृत्युु भएको हो ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ६ का सुलेश चौधरी र लमही नगरपालिका १ का लहानु चौधरी हुनुहुन्छ । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसीले जानकारी दिनुभयो ।
चौधरीद्वय सशस्त्र प्रहरी रहेको र उहाँहरु ज्वालामाई गणमा कार्यरत रहेको बताइएको छ । लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएर डिउटी सकाएर गणमा फर्किनेक्रममा दुर्घटनामा परेका गण प्रमुख एसपी केसीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




