सुनसरी ३ मा भगवती र गच्छदारको तेस्रो प्रतिस्पर्धा हुँदै, कसले मार्ला बाजी


हमार पहुरा डट कम
सुनसरी, असोज २४ गते । दुई जना भेटरान थारु नेता सुनसरी– ३ मा तेस्रो पटक प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा (एमाले) कि नेत्री भगवती चौधरी र नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार यस पटक पनि आमनेसामने भएका छन् । यसअघि दुई पटक बाजी मारेका गच्छदारको राजनीतिक हैसियत खँस्कदैगएकाले यस पटक भगवतीको पल्ला भारी रहेको स्थानीयको भनाइ छ ।

दोस्रो संविधानसभा निर्वाचन २०७० र प्रतिनिधिसभा निर्वाचन २०७४ को निर्वाचनमा गच्छदारले झिनो मतान्तरले भगवतीलाई पराजित गर्नुभएको थियो । त्यसबेला अनेक षडयन्त्रगरी आफूलाई हराइएको आरोप भगवतीले लगाउनुभएको थियो । २०७० को संविधानसभा निर्वाचनमा आफैं अध्यक्ष रहेको पार्टी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनावमा उठ्नुभएका गच्छदारले झिनो मत ३६२ मतअन्तरले भगवतीलाई पराजित गर्नुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ को चुनावमा गच्छदारले ३२१ मतअन्तरले भगवतीलाई पराजित गर्नुभएको थियो । गच्छदारले ३८ हजार ९७२ मत पाउँदा भगवतीले ३८ हजार ६५१ मत पाउनुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ को चुनावमा गच्छदारले ३२१ मतअन्तरले भगवतीलाई पराजित गर्नुभएको थियो । गच्छदारले ३८ हजार ९७२ मत पाउँदा भगवतीले ३८ हजार ६५१ मत पाउनुभएको थियो ।

तेस्रो पटकसम्मको प्रतिस्पर्धामा आइपुग्दा भगवती र गच्छदारको राजनीतिक अवस्थामा बदलाव आएको छ । गच्छदार ललिता निवासको भ्रष्टाचार मुद्दा खोपिरहनुभएको छ । १० लाख धरौटी राखेर तारेखमा छुट्नुभएका गच्छदारको मुद्दा अझै सकिएको छैन । गच्छदार अहिले कांग्रेसमा रहनु भए पनि कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भइसक्नुभएको छ ।

गच्छदारमाथि बालुवाटारस्थित रहेको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दामा भ्रष्टाचार गरेको आरोप लागेको छ । त्यसको तारेख अझै उहाँले बोकिरहनुभएको छ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहनुभएका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगतै राजनीतिक शक्ति लगाएर विशेष अदालतमा हाजिर भएर १० लाख धरौटीमा छुट्नुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ को मतगणनामा गच्छदार धाँधली गरेर जितेको भन्दै भगवती चौधरीले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । तर रिट विचाराधीन रहेकै अवस्थामा प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । त्यसमा एक पटक पनि सुनुवाई भएन ।

भगवती चौधरी र विजयकुमार गच्छदारबीचको भिडन्त रोचक हुने स्थानीय मतदाताको बुझाई छ । गच्छदारलाई पाँच दलीय गठबन्धनको साथ अहिले पनि रहेको छ भने भगवती चौधरीले आफूलाई जनताको साथ रहेको दावी गर्नुभएको छ ।

अदालतले न्याय नदिएपनि यो पटक जनताले आफूलाई न्याय गर्ने भगवतीको विश्वास छ । अदालतले न्याय नदिए पनि अब जनताको घरदैलोमा जान्छु र जनताले आफूलाई न्याय दिने उहाँले बताउनुभयो ।

सो क्षेत्रमा नियमित निर्वाचन जित्दै आउनुभएका गच्छदारले यस पटक पनि आफू निर्वाचन जित्ने दावी गर्नुभएको छ । वि.सं. २०४८, २०५१, २०५६, २०७० र २०७४ मा गच्छदारले सोही क्षेत्रबाट निर्वाचित भइसक्नुभएको छ । यस पटक भगवती चौधरी र विजयकुमार गच्छदारबीचको भिडन्त रोचक हुने स्थानीय मतदाताको बुझाई छ । गच्छदारलाई पाँच दलीय गठबन्धनको साथ अहिले पनि रहेको छ भने भगवती चौधरीले आफूलाई जनताको साथ रहेको दावी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया