पूर्बी तराइमा खेलिने थारु हुकेहुक्का खेलको अस्तित्व संकटमा पर्दै


भक्तिविलास पोखरेल
गाईघाट, कात्तिक ८ गते । लक्ष्मीपूजाका दिन साथीभाइवीच खेलिने थारु समुदायको मौलिक खेल हुकेहुक्का लोप हुने खतरा बढेको छ । सनपाटबाट निर्मित हुकेहुक्का थारु समुदायले केही बर्ष अगाडिसम्म खेले पनि युवापुस्ताले संरक्षण नगर्दा यो खेल लोप हुने अवस्थामा पुगेको हो ।

पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा हुकेहुक्का खेल खेल्ने प्रचलन रहेकोमा सन्ठीको अभाव भएपछि यो खेलको अस्तित्व सङ्कटमा परेको सो समुदायका अगुवाहरुको भनाइ छ । पछिल्लो समय कृषकहरुले सनपाटको खेती गर्न छाडेपछि सन्ठीको अभाव भएको थारु पण्डित बासुदेव चौधरीले बताउनुभयो । यो खेलका लागि सन्ठि नभइनहुने सामग्री हो ।

पौराणिक किंवदन्तीअनुसार परापूर्वकालदेखि खेलिदैआएको हुकेहुक्का एक मुठा सन्ठीलाई बावियो खरले बाँधेर यो खेल खेलिन्थ्यो । घरको देउता कोठाको दलिनमा धान, चामलमाथि दियो राखी विधिवत पूजागरी खेल खेल्ने चलन रहेको पण्डित चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सन्ठीको अभावले यो खेलको अस्तित्व आजभोलि सङ्कटमा परेकोछ ।’

देउता घरको दलिनमा राखेको दियोमा हुकेहुक्का बाली थारु शब्दमा अनधन लक्ष्मी घर ढुक दरिदर बहार हो अर्थात अन्न धनसहित लक्ष्मी घर पसुन र दरिद्र बाहर हुन्ु भन्दै तीन पल्टसम्म मन्त्र पढेर हुकेहुक्का सल्काउने गरिन्छ । यसरी सल्केको हुकेहुक्कालाई तीन फेरोसम्म देउता घरको चारैतिर घुमाएर दोवाटो वा खाली चौरमा लगि खेल्ने चलन छ ।

थारु पण्डित चौधरीले भन्नुभयो, ‘हुक्के–हुक्का तराईमा बस्ने आदिवासीले त्यतिबेला घनघोर जंगलमा बस्दा भूत, पिचास लगायतका नकारात्मक शक्तिसँग मुक्त रहन र धान चामल, बालीनाली राम्ररी सप्रियोस भनेर हुकेहुक्का खेलको प्रचलन चलेको थियो । यस खेलले केही दिनमा किसानले आपूmले लगाएको अन्नबाली भित्र्याउने दिन आयो भनेर संकेत पनि गर्ने गरेको उहाँको भनाइ छ ।

अन्नबाली राम्ररी सप्रियोस भनी हुकेहुक्काको जल्न बाँकी रहेको सन्ठिको भाग जम्मा गरेर दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटकसम्म नाघेर आफ्नो घर जाने चलन रहेको पण्डितको भनाइ छ । त्यसपछि जलेको एक टुक्रा हुकेहुक्का अन्नबाली लगाएको खेत वा बारीमा लगेर गाड्ने चलन रहेको छ । बलेको एउटा हुके हुक्काको ठुटाले दरिद्र वा कुनै किसिमको छोइछुत नलागोस भनी घरमा ल्याइने गरिन्छ ।

गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया