माघ ५ गते अघि नै मधेसी मोर्चासँग सहमति गर्ने तीन दलको तयारी

पुनरनिर्माणमा सहयोग गर्न कुटनीतिक नियोगहरुसँग प्रधानमन्त्री ओलीको आग्रह


3-dal

काठमाडौं, पुस ३० गते । प्रमुख तीन दलका शीर्ष नेताहरुले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग माघ ५ गते अघि नै लिखित सहमति गर्नेगरी प्रक्रिया अगाडि बढेको बताएका छन् । “माघ ५ गते १ बजेका लागि व्यवस्थापिका संसदको बैठक राखिएकाले सो अघि सहमति भइसक्छ” नेताहरुले भन्नुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार बसेको प्रमुख तीन दलको बैठकले त्यस्तो निर्णय गर्दै मोर्चासँग ठोस सहमति पछि सोही आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका हुन् । मोर्चा सम्बद्ध दलका नेताहरुसँग कार्यदलस्तरमा निरन्तर वार्ता र छलफल भइरहेकाले त्यसको प्रगतिको आधारमा शीर्ष तहकै सहमतिमा प्रक्रिया अघि बढ्ने बुझाई नेताहरुको छ ।

संसदमा दर्ताभएका संविधान संशोधन विधेयकमाथि विभिन्न दलका सांसदहरुले संशोधन दर्ता गराउनुभएको छ । तर मोर्चा सम्बद्ध दलका नेताहरुले दर्ता गराउनुभएको छैन । असन्तुष्ट मोर्चा सम्बद्ध दललाई समेत सहमतिमा लिएर संविधानको संशोधन विधेयक सहमतिमै पारित गराउने तयारी नेताहरुको छ ।

बैठकबारे जानकारी दिनुहुँदै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सकेसम्म शुक्रबारसम्म नै ठोस सहमतिको प्रयास गरिने बताउनुभयो ।

“सम्भव नभए संसद बैठक बस्नुअघि नै सबै विषयमा लिखित सहमति हुन्छ” श्रेष्ठले भन्नुभयो । “कार्यदलस्तरमा छलफल जारी छ, आवश्यक परेमा शीर्ष तहकै नेतासँग परामर्श र छलफल गरेर सम्झौता गर्ने तयारी भएको छ” उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका नेता महेश आचार्यले प्रमुख तीनदलबीच समस्याको समाधान निकाल्नेगरी अगाडि बढ्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । अहिलेसम्म भएको प्रगति र छलफलको विषयमा अब बस्ने कार्यदलको बैठकमा छलफल हुने र समान धारणा बनाउने प्रयास हुने उहाँले बताउनुभयो । “प्रमुख दलका नेताहरु समस्या छिटोभन्दा छिटो समाधान गर्नमा तत्पर रहनुभएकाले मोर्चाको जायज मागलाई सम्बोधन गरेर अगाडि बढिनेछ” नेता आचार्यले जानकारी दिनुभयो ।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस र एमाओवादीका शीर्ष नेताहरुको सहभागिता थियो । कार्यदलको बैठक शुक्रबार बस्ने नेताहरुले जानकारी गराएका छन् । यसअघि कार्यदलको बैठक विहिबार बस्ने तयभएको थियो । तर एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीमबहादुर रावल उपत्यका बाहिर रहनुभएकाले बैठक शुक्रबार बस्ने कांग्रेस नेता आचार्यले जानकारी दिनुभयो ।

उहाँको अनुसार शुक्रबार कार्यदलस्तरमा छलफल गरेर शनिबार शीर्ष दलका नेतासहित कार्यदलको संयुक्त बैठक आयोजना गरिएको छ ।

कुटनीतिक नियोगहरुसँग सहयोगको आग्रहः
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विभिन्न देशका कुटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गर्नुहुँदै भूकम्प पीडितहरुको पुनस्र्थापनामा आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ ।

बालुवाटारमा विहिबार लन्चसहितको छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले अहिलेसम्म सरकारको तर्फबाट भएगरेका कामको प्रगति र गर्नुपर्ने कामबारे नियोगका प्रमुखहरुलाई जानकारी गराउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले १३ बुँदे लिखित मन्तव्य व्यक्त गर्नुहुँदै माघ २ गतेबाट पुनस्र्थापनाको महाअभियान शुरुहुन लागेको जानकारी गराउनुभएको थियो । पुनस्र्थापना सम्बन्धी कार्ययोजनाहरु तयार भइसकेकाले सरकारले पारदर्शी र जिम्मेवारीपूर्वक त्यसलाई सम्पन्न गर्ने विश्वास उहाँले नियोग प्रमुखहरुलाई दिलाउनुभयो ।

“सरकारले प्राविधिक सहयोग र बजेटको उचित बन्दोबस्त गर्छ, स्थानीय स्तरमै, स्थानीयहरुको सहयोगले पुनरनिर्माणको कामगर्ने योजना बनाएका छौं” प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । पुनरनिर्माण सँगसँगै स्थानीय पीडितहरुलाई पुनस्र्थापना सम्बन्धी प्राविधिक तालिमको समेत व्यवस्था गरिने उहाँले बताउनुभयो ।

माघ २ गतेदेखि बुङ्मति र रानीपोखरीबाट पुनरनिर्माण महाअभियान औपचारिकरुपले शुभारम्भ हुने जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले नियोग प्रमुखहरुलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोगको अपेक्षा सरकारले गरेको बताउनुभयो । भूकम्प लगत्तै भएको अन्तर्राष्ट्रिय सम्मेलनमा आई सहयोगको प्रतिवद्धता जनाउनुहुने सबै देशलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

भूकम्प लगत्तै पुनस्र्थापनाको काम शुरुहुन नपाउँदै मधेसमा आन्दोलन शुरुभएको र इन्धन आपूर्तिमा भएको समस्याले देशलाई झन संकटमा पु¥याएको जानकारी दिनुहुँदै उहाँले मोर्चा सम्बद्ध दलका नेताहरुसँगको छलफल र वार्ता सकारात्मक तरिकाले अघि बढेकाले चाँडै समस्या समाधान हुने विश्वास कुटनीतिक नियोगका प्रमुखहरुलाई दिलाउनुभयो ।

तपाईको प्रतिक्रिया