कैलाली ३ मा गौरीशंकर, कुन्दन र गंगाबीच त्रिपक्षीय भिडन्त हुने


चाँदनी आचार्य
कैलाली, कात्तिक २९ गते । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा तीन राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा नेकपा (एमाले) का गौरीशंकर चौधरी, माओवादी केन्द्रका कृष्ण चौधरी कुन्दन र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगा चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

एमालेको तर्फबाट पूर्वमन्त्री गौरीशङ्कर चौधरी फेरि जित निकाल्ने कसरतमा लाग्नुभएको छ । गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्ण चौधरी कुन्दन र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गा चौधरीबीच त्रिपक्षीय भिडन्त हुने देखिएको हो ।
२०४८ देखि निरन्तर संसदीय यात्रामा विजयी हुनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामजनम चौधरीलाई २०७४ मा पराजय गर्नुभएका तत्कालीन माओवादी केन्द्र र हाल एमालेका उम्मेदवार गौरीशङ्करले यो चुनावमा आफ्नो प्रतिस्पर्धा गठबन्धनका उम्मेदवारसँग हुने बताउनुभयो ।

एक लाख सात हजार ६५९ मतदाता रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट मङ्सिर ४ को चुनावमा तीसदेखि पैंतीस हजार मत ल्याएर आफू विजयी हुने एमाले उम्मेदवार गौरीशङ्करले दाबी गर्नुभयो ।

गौरीशङ्करले २०७४ को चुनावमा २४ हजार ८७३ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसका रामजनमले २० हजार ४७३ मत प्राप्त गर्नुभएको थियो । उहाँले कैलाली क्षेत्र नं। १ बाट उम्मेदवारी दिनुभएको छ ।

एक लाख सात हजार ६५९ मतदाता रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट मङ्सिर ४ को चुनावमा तीसदेखि पैंतीस हजार मत आफूले पाउने एमाले उम्मेदवार गौरीशङ्करले दाबी गर्नुभयो । गौरीशङ्कर २०७० मा पनि माओवादी केन्द्रबाट विजयी हुनुभएको थियो । २०७० र २०७४ मा लगातार माओवादी केन्द्रबाट विजयी हुनुभएका चौधरी अहिले एमालेबाट उम्मेदवार बन्नुभएको हो ।

दुई पटक सांसद भएर दुई पटकसम्म मन्त्री हुनुभएका चौधरी आफूले यसअघि गरेको कामका कारण जनताले पुनः आफूलाई निर्वाचित गराउनेमा विश्वस्त रहेको बताउनुभयो । चौधरी एक पटक कृषिमन्त्री र एक पटक श्रम रोजगारमन्त्री हुनुभएको थियो ।

‘मेरो कार्यकालमा कृषिमा थुप्रै काम भएका छन्, किसानले मलको अभाव झेल्नुपरेन, प्रधानमन्त्री कृषि परियोजना सुरु भयो । किसानले आफ्नो उत्पादनको मूल्य पाए’ गौरीशङ्करले भन्नुभयोे, ‘यहाँका नदीमा पुल बनेका छन्, बाटोहरू पक्की भएका छन् । यी सबै कामले नै मलाई पुनः विजयी बनाउनेछ ।’

आफूले सुरु गरेका केही काम अझ पूरा हुन बाँकी रहेकाले जनताले पुनः निर्वाचित गराउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ । गौरीशङ्करको प्रतिस्पर्धा आफ्नै पूर्व सहयात्री कृष्ण चौधरी ‘कुन्दन’ सँग हुनेभएको छ । कुन्दन २०६४ मा कैलाली क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो ।

पछिल्लो समय कुन्दन नयाँ शक्ति, जसपा हुँदै केही महिना अघिमात्रै माओवादी केन्द्रमा फर्किनुभएको थियो । एक समयका माओवादी कमान्डरहरुबीच यस निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उम्मेदवार एकले अर्कालाई हराउने दाबीसहित चुनावी घरदैलो अभियानमा रहनुभएको छ ।

आफूले अघिल्लो पटक थुप्रै काम गरेको हुँदा निर्वाचन जित्ने दाबी गरेका गौरीशङ्करलाई धेरै काम गर्न नसकेको कुन्दनले आरोप लगाउनुभयो । उहाँले भन्नुभयोे, दुई पटक सांसद, मन्त्री भएर उहाँले केही काम गर्न सक्नुभएन, यस पटक म १५ हजार मतको फरकमा चुनाव जित्छु ।

क्षेत्र नम्बर ३ मा २६ वटा वडा रहेको स्थानीय तहको निर्वाचनमा एमालेले ३, कांग्रेसले २०, जसपाले १ र उन्मुक्ति र माओवादीले एक–एक वडामा विजय प्राप्त गरेका थिए । जसपा, माओवादी, कांग्रेसको समर्थन रहेको बताउने कुन्दनले आफूले ढुक्कसँग चुनाव जित्ने दाबी गर्नुभयो ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका कुन्दन र एमालेबाट गौरीशङ्कर चुनावी मैदानमा भिडिरहेका बेला नयाँ पार्टीको रुपमा रहेको नागरिक उन्मुक्तिबाट गङ्गा चौधरी पनि चुनावी मोर्चामा होमिनुभएको छ । दुबै जना संघीय सांसद भइसकेकाले यस पटक आफूले पालो पाउने उहाँले बताउनुभयो ।

टीकापुर घटनाको न्याय, विकास र समृद्धिको मुद्दा लिएर अहिले जनतासमक्ष गइरहेको बताउँदै उहाँले भन्नुभयो, हामीलाई न्याय चाहिएको छ । हामी न्याय, विकास र समृद्धिको मुद्दा लिएर जनतासमक्ष गइरहेका छौँ । निकै राम्रो प्रतिक्रिया आएकाले म जित्छु भन्नेमा विश्वस्त छु ।

गठबन्धनभित्र समस्या रहेको बताउनुहुने गङ्गाले दुई पटकसम्म मन्त्री भएका गौरीशङ्करसँग आफ्नो प्रतिस्पर्धा हुने बताउनुभयो । घोडाघोडी नगरपालिकाको पूरै क्षेत्र, भजनी नगरपालिकाको ७ वडा र कैलारी गाउँपालिकाका ७ वडा यस क्षेत्रमा पर्छ । स्थानीय तहमा घोडाघोडी प्रमुखमा नेकपा (एकीकृत समाजवादी) र उपप्रमुखमा कांग्रेस विजयी भएको थियो ।

भजनीमा प्रमुख र उपप्रमुख दुबैमा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका थिए । कैलाली गाउँपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको थियो । मतदाताले भने जनताको समस्या र मर्म बुझेर काम गर्ने नेतालाई आफूहरुले मतदान गर्ने बताएका छन् ।
गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया