हमार पहुरा डट कम
धनगढी, मङ्सिर ९ गते । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उहाँले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई ९५८ मतान्तरले पराजित गर्नुभएको हो । विजयी हुनु भएका पन्तले २० हजार ५९७ मत प्राप्त गर्नुभयो । पराजित रानाले १९ हजार ६३९ मत पाउनुभयो ।
यसैगरी, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार १९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले ६ हजार ६१९ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका इश्वरी विष्टले तीन हजार ३६२ मत प्राप्त गर्नुभयो ।
पन्त यसअघि २०७४ मा ५ को (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी, पूर्व मन्त्रीसमेत रहनुभएका राना २०७४ मा यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका पन्तलाई बधाई दिनुहुँदै पराजित रानाले यो क्षेत्रको विकासका लागि आफूले सुरुवात गरेका कामहरुलाई पूर्णता दिन आग्रह गर्नुभयो । यस्तै, उहाँले प्रदेश सभा सदस्यमा निर्वाचित प्रकाश देउवालाईसमेत बधाई दिनुभयो ।