माघी पर्वमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना


Vidya

काठमाडौं, पुस ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्रान्ति तथा माघी पर्व २०७२ को अवसरमा छुट्टाछुट्टै शुभकामना व्यक्त गर्नुभएको छ ।

माघे संक्रान्ति तथा थारु, मगर, छन्त्याल समुदायको माघीपर्वको अवसरमा दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले देश तथा विदेशमा रहनुभएका सबै नेपाली समुदायहरुको प्रगति तथा एकताको शुभकामना व्यक्त गर्नुभएको छ । माघे संक्रान्ति सबै नेपालीको साझा पर्व भएको र थारु, मगर तथा छन्त्याल समुदायले यस पर्वलाई विशेषरुपमा मनाउने उहाँले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

एकापसमा शुभकामना साटासाट गरी मनाइने यस पर्वले सबै नेपाली बीचको एकता, भातृभाव तथा सद्भाव कायम गर्ने विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।

Oli

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले माघेसंक्रान्ति तथा माघीपर्व २०७२ को अवसरमा सबै नेपाली समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । “आफ्नो संस्कृति र परम्पराअनुसार यस पर्वको अवसर पारेर समुदायका तपाईहरु सबै एकापसमा भेटघाट गर्ने र आपसमा सामिप्यता गाँस्ने गर्नुहुन्छ भन्ने मलाई लाग्दछ । यस अर्थमा माघी पर्वलाई एकताको पर्वको रुपमा पनि लिन सकिन्छ” प्रधानमन्त्री ओलीले जारी विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

“शदियौंदेखि एकताबद्ध रहँदै आएका हामी मुलुकको जटिल परिस्थितिमा अझै बढी एकताबद्ध हुनु आवश्यक छ, मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त एकताबध्द भएर अघि बढ्न माघी पर्वबाट सबैमा प्रेरणा मिलोस्” प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्नुभएको छ ।

थारु, मगर तथा छन्त्याल समुदायले माघी पर्वलाई विशेषरुपमा मनाउने र थारु समुदायले त नयाँ वर्षकैरुपमा पर्वलाई मनाउने चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले पर्वको महत्वलाई महशुस गरी तत्कालिन सरकारले २०६४ सालदेखि नै राष्ट्रिय पर्वकोरुपमा मनाउँदैआएको उहाँले स्मरण गर्नुभएको छ ।

यस पर्वमा तरुल, खिचडी, ढिक्री, सखरखण्ड, तिलको लड्डु लगायतको चिजवस्तुहरु खाएर नेपालीहरु मनाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया