विश्वासको मत लिएपछि थारु राजबन्दी रिहाइमा पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड


हमार पहुरा डट कम
काठमाडौं, पुस २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संघीय संसदबाट विश्वासको मत लिएपछि टीकापुर घटनामा आरोपित भई जेल जीवन विताइरहेका रेशमलाल चौधरीसहितका राजबन्दीको रिहाईका लागि सरकारको तर्फबाट पहल गर्ने आश्वासन दिनुभएको छ । थारु कल्याणकारिणी सभा (थाकस) का पदाधिकारी तथा थारु आयोगका पदाधिकारीसँग शुक्रबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो आश्वासन दिनुभएको हो ।

थारु समुदायमाथि अन्याय भएको बताउँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले आफू थारु समुदायको हकहितको पक्षमा रहेको बताएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिनुभयो । जनयुद्धताका पनि थारु समुदायको ठूलो सहयोग रहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसलाई त्यही रुपमा समाधान गर्ने बताउनुभयो ।

सोहीअनुसार माघ १ गते टुँडीखेलमा आयोजना हुने माघी महोत्सव २०७९ को उदघाटन पनि प्रधानमन्त्री दाहालले गर्ने हुनुभएको छ । थाकसका महामन्त्री चैधरीले प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निमन्त्रणा हस्तान्तरण गरेको बताउनुभयो । प्रधानमन्त्री दाहालले आफू महोत्सवमा सहभागी हुने प्रतिवद्धता गरेको महामन्त्री चौधरीले बताउनुभयो । त्यस अवसरमा माओवादी केन्द्रका थारु नेताहरु, थारु आयोगका पदाधिकारी तथा उपस्थित सहभागीले प्रधानमन्त्री दाहाललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गनुृभएको थियो ।

तपाईको प्रतिक्रिया