लक्की चौधरी
काठमाडौं, माघ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिंहदरवार–बालुवाटारको फेरी लगाउन मात्र नआएको भन्नुहुँदै आफ्नै कार्यकालमा काठमाडौंमा विद्युतीय रेल सेवाको शुभारम्भ गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
थारु माघी महोत्सव २०७२ को दशरथ रंगशालामा शुक्रबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो प्रतिवद्धता व्यक्त गर्नुभयो । “आफ्नो कार्यकालमा म नयाँ कामको शुभारम्भ गर्न चाहेको छु, तर अरुलाई पत्यार लागेको छैन” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
“मैले ग्यास ल्याउने प्रयास गर्छु भन्दा सबैजना हाँसे, भान्सामा पाइप जोड्छु भन्दा झन हाँसे, छिमेकी भारत, पाकिस्तान र चीनको नागरिकको भान्सामा पाइप जोडिन सक्छ भने हाम्रो यहाँ किन हुन सक्दैन ?” उहाँले जिज्ञासा राख्नुभयो । देशको समस्या समाधान गर्न सरकार लागिपरेको र चाँडै समस्याको अन्त्य हुने बताउनुभयो ।
“सरकार कानमा तेल हालेर सुतेको छैन, समस्या समाधानका निम्ति निरन्तर लागेको छ, केही दिनमै समस्या समाधान भएर देश समृद्धिको बाटोमा जान्छ” उहाँले भन्नुभयो । जनताको दुःखप्रति सरकार जानकार रहेको भन्नुहुँदै उहाँले त्यसको प्रयास जारी रहेकाले केही दिनमै प्रतिफल देखिने बताउनुभयो ।
एकसय पाँचवर्षअघि जलविद्युत उत्पादन शुरुगरेर अहिलेसम्म ३ सय मेगावाटमै खुम्चिएकोमा दुःख व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारले ठूलो मात्रामा जलविद्युत उत्पादन गरेर देखाउने दावी गर्नुभयो । आफू काम गर्नकालागि जिम्मेवारीमा आएको उहाँले प्रष्ट पार्नुभयो ।
माघ २ गतेबाट राष्ट्रिय पुनरनिर्माणको महाअभियान रानीपोखरीबाट शुरुहुन गइरहेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले ५ गतेबाट न्यानो कपडा, कम्बल तथा आवश्यक लुगाकपडा भूकम्प पीडित परिवारलाई वितरण गर्न गइरहेको जानकारी दिनुभयो । “देश गरिब छ, देशको क्षमताअनुसार काम गरिरहेका छौं, रातारात परिवर्तन गर्न हाम्रो स्रोत साधनले भ्याउँदैन” उहाँले भन्नुभयो ।
“यो सरकारले देशलाई अहिलेको अवस्थामा पु¥याएको हैन, यो भन्दा अगाडिको सरकारले देशलाई संकटमा पा¥यो” प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म जतिदिन जिम्मेवारीमा रहन्छु, देश र जनताको लागि राम्रो गर्ने प्रयास गर्छु, चिच्याउने चिच्याइरहन्छन् ।” मेरो काम गर्ने योजना छ, काम गरेरै देखाउँछु भन्नुहुँदै प्रधानमन्त्री ओलीले थारु समुदायका निम्ति सरकारले राम्रो काम गरेरै देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“हामीले कसैको केही विगारेका छैनौं, तर पनि इन्धन, ग्यासको अभाव भोगिरहेका छौं” भन्नुहुँदै उहाँले पूर्व पश्चिम राजमार्गलाई चौडाई गर्ने, फाष्ट ट्रयाकको काम पनि छिटो अगाडि बढ्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । “हाम्रो देश हामी आफैले बनाउनु पर्छ, अरु कोहीले बनाउँदैन, त्यसैले हामी एकजुट र एकताको सन्देश दिनुछ” उहाँले भन्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले माघी पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।
शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले नयाँ संविधानले थारु समुदायलाई पनि यथोचित सम्बोधन गरेको बताउनुभयो । कमी कमजोरीहरुलाई क्रमशः संशोधनमार्फत पूरा गर्दैजाने बताउनुहुँदै उहाँले संविधान कार्यान्वयन भएमात्र अधिकारको अपनत्व हुने बताउनु भयो ।
माघी महोत्सव मूल आयोजक कमिटीका संयोजक सत्यनारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सांसद ताराकान्त चौधरी, भोटनीदेवी खवास, पूर्वमन्त्री मार्सलजुलुम शाक्य, थारु कल्याणकारिणीसभाका पूर्व अध्यक्ष नरेन्द्रकुमार चौधरी, कनुलाल चौधरी, प्रेमीलाल चौधरी, पृथ्वीचन्द चौधरी, कानूनलाल चौधरी लगायतले थारु समुदायको माग र माघीपर्वको विषयमा चर्चा गर्नुभएको थियो ।
महोत्सवमा विभिन्न परिकार, हस्तकलाका स्टलहरु राखिएका थिए । थारुको विशेष परिकार ढिक्री, घोङ्घी, गगंटा, सिपी, अनदीको भात, खिचडी लगायतको परिकार राखिएको थियो । महोत्सवको उद्घाटन प्रधानमन्त्री ओलीले चामल, दाल र नूनलाई निसराउकोरुपमा निकालेर उद्घाटन गर्नुभएको थियो ।
यस पल्ट खुलामञ्च र रंगशालामा दुई ठाउँमा माघी महोत्सव भएको छ । खुलामञ्चको महोत्सवको उद्घाटन डा. बाबुराम भटराईले गर्नुभयो । चन्द्रप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा थारु संस्कृतिहरु प्रदर्शन गरिएका थिए ।