फोनिज मधेस प्रदेश कार्य समिति अध्यक्षमा दुष्यन्त चौधरी निर्वाचित


हमार पहुरा डट कम
काठमाडौं, माघ २१ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश कार्य समितिको अध्यक्षमा दुष्यन्त चौधरी (बारा) सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । महोत्तरीको वर्दिबासमा शनिबार भएको प्रदेश विशेष अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

त्यसैगरी समितिको उपाध्यक्षमा प्रियासिंह थारु (सप्तरी) र अनिता चौधरी (सिराहा) निर्वाचित हुनुभएको छ । सोहीअनुसार महासचिवमा बृजमान तामाङ (सप्तरी), सचिवमा रेणु चौधरी (बारा) र कोषाध्यक्षमा ज्योति मोक्तान (सर्लाही) सर्वसम्मत निर्वाचित भएको छ ।
त्यस्तै, सदस्यहरुमा मनोजकुमार थापामगर (महोत्तरी), उदय पाख्रिन (सर्लाही), शम्भु चौधरी (पर्सा), नविन चौधरी (बारा), जितेन्द्र चौधरी (सप्तरी), शम्भु चौधरी (सिराहा), बुधन चौधरी (बारा) रहनुभएको छ ।

एक सचिवसहित बाँकी सदस्यहरुलाई कार्य समितिले मनोनित गर्नेछ । २१ सदस्यीय प्रदेश कार्य समितिको कार्यकाल तीन वर्षको हुनेछ । फोनिजको मधेस प्रदेशमा पाँच जिल्लामा शाखा रहेको छ । बाँकी तीन जिल्लामा शाखा गठनको पहल तत्काल गर्ने निर्णय भेलाले गरेको छ ।
भेलाले शंकर श्रेष्ठ (सर्लाही) र दिपेश श्रेष्ठ (महोत्तरी) लाई फोनिज केन्द्रीय विभागमा मनोनित गर्ने निर्णय गरेको छ । मधेस प्रदेशबाट केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गराउने उद्देश्यले उहाँहरुलाई मनोनित गर्ने निर्णय गरेको हो ।

फोनिज मधेस प्रदेशका अध्यक्ष परमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय अध्यक्ष गजुरधन राई, वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष कमन देवान, महासचिव मिलन लिम्बुले उदघाटनसत्रमा अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । मधेस प्रदेशमा फोनिजलाई चुस्त र प्रभावकारी बनाउने गरी काम गर्न अध्यक्ष राईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।

६० जिल्ला शाखा ८ विदेश शाखा र ७ प्रदेश शाखा रहेको फोनिजमा देशभरबाट चार हजार बढी सदस्य रहेका छन् । आदिबासी जनजाति पत्रकारको बृति विकास तथा जनजातीजन्य अधिकार तथा सवालको पैरवी गर्ने उद्देश्यले यो संस्था २०५६ साल साउन २७ गते स्थापना भएको थियो ।

तपाईको प्रतिक्रिया