अनेरास्ववियुको उपाध्यक्षमा रामशरणको उम्मेदवारी, सहयोग गर्न आग्रह


हमार पहुरा डट कम
काठमाडौं, माघ २६ गते । आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन गइरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को उपाध्यक्षमा आफूलाई सहयोग गर्न रामशरण चौधरीले आग्रह गर्नुभएको छ । थारु समुदायबाट पदाधिकारीमा आफू एकमात्र उम्मेदवार हुने भएकाले सहयोगको उहाँले आग्रह गर्नुभएको हो ।

चौधरीले अनेरास्ववियुको आगामी महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुलाई समावेशी चरित्रको बनाउन पनि आफूलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । हाल कार्य समिति सचिवको जिम्मेवारीमा रहेर काम गरिरहेको भन्दै उहाँले जिम्मेवारी पाएमा आफूले संगठनलाई गतिशील बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।

अनेरास्ववियुको २३ औं महाविधेशन नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा फागुन २ गते उदघाटन हुनेछ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उदघाटन गर्नुहुनेछ । चौधरी यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य, स्थायी कमिटी सदस्य हुँदै सचिवको जिम्मेवारीमा पुगेको बताउनुभयो ।

अनेरास्ववियुको पदाधिकारी १७ जना, स्थायी कमिटी ४८ सदस्यीय र ६५ जना केन्द्रीय सदस्यसहित १९९ सदस्यीय नयाँ कमिटी चयन हुन महाधिवेशन हुन लागेको हो । २०७२ पछि हुन लागेको महाधिवेशनलाई समयानुकुल समावेशी चरित्रको बनाउन आवश्यक रहेको भन्दै चौधरीले आफू उपाध्यक्षमा उम्मेदवारी दिने बताउनुभयो ।

देशभरबाट करिब १६ सय प्रतिनिधि रहने महाधिवेशनले लोकतान्त्रिक प्रक्रियाअनुसार नयाँ कमिटी चयन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । देशभरबाट विद्यार्थीहरु प्रतिनिधि भएर काठमाडौं आउने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया