भवन बनेको चार वर्ष बित्दा समेत सञ्चालनमा आएन थारू संग्रहालय


हमार पहुरा डट कम
कपिलवस्तु, फागुन ४ गते । थारू संस्कृति, कला तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको संग्रहालय भवन प्रयोगबिहीन भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका –२ लोहरौलामा ३७ लाख रुपियाँको लागतमा निर्माण गरिएको संग्रहालय भवन निर्माण सम्पन्न भएको चार वर्ष पुग्दा पनि सञ्चालनमा नआएको हो । भवनको २०७६ मा निर्माण कार्य सम्पन्न भएको थियो ।

भवन निर्माणका लागि गाउँपालिका, संसदीय विकास कोषको लगानी रहेको थियो । गाउँका बरघर (अगुवा) रुद्रनारायण थारुले संग्रहालय सञ्चालनका लागि तीन तहको सरकारसँग पहल गरे पनि चासो नदिएको बताउनुभयो । थारु समुदायको बेग्लै पहिचान रहेकाले ऐतिहासिक सामग्री संकलन गरी नयाँ पुस्तालाई सिकाइ हस्तान्तरण गर्न सहज हुनेछ । आधुनिकताको प्रभावले गर्दा पछिल्लो समय थारु सभ्यता, परम्परागत गहना, हस्तकला, चित्रकला रहनसहनलाई संरक्षण गर्नुपर्ने देखिएको छ ।

थारु समुदायको बेग्लै पहिचान रहेकाले ऐतिहासिक सामग्री संकलन गरी नयाँ पुस्तालाई सिकाइ हस्तान्तरण गर्न सहज हुनेछ ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले स्थानीयलाई संरक्षण समिति गठन गर्न पटक पटक अनुरोध गरेको बताउनुभयो । भवन बन्यो तर समिति छैन, जसका कारण सञ्चालनका लागि बजेट विनियोजनको पहल नभएको बताउनुभयो । थारु पहिचान झल्किने ऐतिहासिक पुर्खाैली सामग्री संकलन गरेर संग्रहालयमा राख्दा आन्तरिक तथा बाह्य पर्यटनको विकास हुने उहाँको भनाइ छ ।

पालिकाले संग्रहालय सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग पहल गरेको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । लुम्बिनी प्रदेश खानेपानी ग्रामीण तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले संग्रहालयको अवलोकन गर्नुभयो । समुदायको अपनत्व हुनेगरी संग्रहालय सञ्चालनमा जोड दिइने अध्यक्ष थापाले बताउनुभयो ।
(गोरखापत्र अनलाइनबाट)

तपाईको प्रतिक्रिया