कानुन बन्न नसके आदिबासीको संवैधानिक अधिकार खोसिन्छ : सभामुख मण्डल


हमार पहुरा डट कम
जनकपुर, फागुन १३ गते । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले आदिबासी जनजातिका लागि संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न नसकिए सो अधिकार खोसिन सक्ने बताउनुभएको छ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न अझै नसकिएकाले सो अधिकार कार्यान्वयन हुन नसकेमा अधिकार खोसिन सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभएको हो ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश कार्य समितिद्वारा आज शनिबार जनकपुरमा आयोजित ‘आदिबासी जनजाति सांसदहरुको सम्मान तथा आदिबासी पत्रकारको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख मण्डलले सो कुरा बताउनुभयो । आफू पनि आदिबासी जनजातिको छोरो भएकाले चिन्ता लागेको उहाँले प्रष्ट पार्नुभयो ।

संविधानले आदिबासीका थुप्रै अधिकार सम्बोधन गरेको भए पनि आवश्यक ऐन कानुन निर्माणको अभावमा कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । आगामी दिनमा पनि त्यस्तो परिस्थिति कायम हुन सक्ने भन्दै उहाँले आदिबासी जनजाति सांसदहरु सामुहिक रुपमा पहल लिन नसके संविधान संशोधन गरेर अधिकार खोसिने डर रहेको उहाँको भनाइ छ । आदिबासी जनजातिसँगै, पछाडि परेका वर्ग समुदाय, मधेसी, दलित, मुस्लिम तथा अल्पसंख्यकको अधिकार सम्बोधनमा सबै सांसद चनाखो हुनुपर्ने उहाँले चर्चा गर्नुभयो ।

कलममा ठूलो ताकत हुने भएकाले आदिबासी जनजाति तथा राज्यबाट पछाडि पारिएका समुदायका पत्रकारले ती सवाल कार्यान्वयनका लागि कलम चलाउनुपर्ने उहाँको सुझाव छ । आदिबासी जनजाति सांसदहरुले सामुहिक पहल लिएमा सुनुवाई हुने उहाँले बताउँदै आफ्नो ठाउँबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो । आदिबासी जनजातिको सवाल कार्यान्वयनका लागि आदिबासी सांसदले विधेयक ल्याएमा प्रदेश सभामा दर्ताका लागि आफूले पहल लिने उहाँले विश्वास दिलाउनुभयो ।

आदिबासीको भाषा, संस्कृति र पहिचान जोगाउने चुनौती भएको चर्चा गर्दै सभामुख मण्डलले संघीयताको मूल मर्म भनेकै स्थानीयको पहिचान संरक्षण गर्नुरहोके चर्चा गर्नुभयो । राजनीति नै सबै चिजको गाइड गर्ने हुनाले आदिबासी समुदाय राजनीतिक रुपमा बलियो हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद बेची लुङ्गेली, उर्मिलादेवी सिंह थारु, भाग्यश्री चौधरी, ममतादेवी मण्डललगायतलाई सभामुख मण्डलले सम्मानित गर्नुभयो । सो अवसरमा मधेस प्रदेशको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, पत्रकार महासंघ धनुषा शाखालाई समेत सम्मानित गरिएको थियो । फोनिज मधेस प्रदेश समितिले मधेस प्रदेश सांसदहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो । सो प्रदेशमा १५ जना आदिबासी सांसद हुनुहुन्छ ।

प्रदेश सांसद बेची लुङ्गेलीले आदिबासी समुदायका लागि कानुन बनाउन नसकिएको स्वीकार गर्नुभयो । आदिबासी सांसदहरु एक ठाउँमा उभिएर त्यसको पहल लिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा सम्मानित सबै सांसदले आफ्नो ठाउँबाट समुदायका लागि भूमिका खेल्न आफूहरु सचेत रहेको बताउनुभयो ।

फोनिज मधेस प्रदेशका अध्यक्ष दुश्यन्त चौधरीको सभापतित्वमा भएको कार्यक्रममा फोनिज संघीय समितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, फोनिज मधेस इन्चार्ज निरज पिठाकोटे, पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेशकुमार कर्ण, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनुषाकी अध्यक्ष जमुना भुजेल, पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झा, फोनिज मधेस प्रदेश उपाध्यक्ष प्रियासिंह थारु लगायतले धारणा राख्नुभएको थियो ।

(गोरखापत्र अनलाइनबाट)

तपाईको प्रतिक्रिया