पत्रकार लक्की चौधरीलाई यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान


हमार पहुरा डट कम
काठमाडौं, फागुन २१ गते। यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार २०७९’ गोरखापत्रका पत्रकार लोकबहादुर चौधरी (लक्की) लाई प्रदान गरिएको छ। आइतबार शहीद यदुकुमार गौतमको २४ औँ स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा नेकपा (एमाले) का महासचिव तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले पत्रकार चौधरीलाई पुरस्कार प्रदान गर्नुभएको हो।

गोरखापत्र अनलाइनका उपसम्पादक चौधरीलाई २० हजार रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको हो। विसं २०५५ साल फागुन २१ गते साहित्यकार, अधिवक्ता तथा पत्रकार यदुकुमार गौतमको रुकुमको गरायलामा तत्कालीन नेकपा (माओवादी) कार्यकर्ताले हत्या गरेको थियो। उहाँको सम्झनामा यदुकुमार स्मृति प्रतिष्ठान रुकुमले २०५९ देखि पत्रकारिता पुरस्कार वितरण गर्दैआएको छ।

विसं २०५३ देखि कैलालीबाट पत्रकारितामा संलग्न चौधरी कार्यक्षेत्रबाट विस्थापित भए पनि निरन्तर पेसामा सक्रिय रहेकोमा उच्च कदर गरी पुरस्कार दिने निर्णय गरिएको थियो। प्रतिष्ठानले चौधरीलाई नगदसहित सम्मानपत्रले सम्मानित गरेको छ ।

थारु भाषाको प्रथम दैनिक पत्रिका ‘हमार पहुरा’ का सम्पादक प्रकाशक रहेर कैलालीबाट पत्रकारिता गर्नुभएका पत्रकार चौधरीले २०५९ चैत २९ देखि तत्कालीन थारु भाषाको साप्ताहिक पत्रिका ‘पहुरा’ साप्ताहिक प्रकाशन गर्नुभएको थियो। अहिले सो पत्रिका दैनिक रूपमा सञ्चालन हुँदैआएको छ।

पत्रकारिता, समाजशास्त्र तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका चौधरी २०६६ देखि गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ। यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष सुजाता गौतमको सभापतित्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया