फोनिजको नीति तथा विधान परिमार्जन गर्न जनजाति पत्रकार हरिवनमा


हमार पहुरा डट कम

सर्लाही (हरिवन), फागुन २७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को नीति तथा विधान परिमार्जन गर्न देशभरका आदिबासी जनजाति पत्रकार सर्लाहीको हरिवनमा भेला भएका छन् । शनिबार र आइतबार दुई दिन हुने सो भेलाले फोनिजको आगामी नीतिगत कार्यनीति तथा विधानलाई परिमार्जन गर्नेछ ।

यसअघि २०७८ चैत २४ र २५ गते चितवनको सौराहामा भएको महासंघको सातौं महाधिवेशनले विधान सम्मेलन गरी विधानलाई परिमार्जन गर्ने म्यान्डेट दिएको थियो । सोही म्यान्डेटअनुसार फोनिज संघीय समितिले करिब ११ महिनापछि सो नीति तथा विधान सम्मेलनको आयोजना गरेको हो ।

आज शनिबार फोनिजको पाँचौ पूर्ण केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । नीति तथा विधान सम्मेलनको उदघाटन आइतबार संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुधन किराँतीले गर्नुहुनेछ । त्यसअघि आइतबार विहान ८ बजेदेखि फोनिजको आगामी नीतिगत विषयमा छलफल हुनेछ । विभिन्न विभागीय समितिका संयोजकहरुले सो विषयमा कार्यपत्र प्रस्तुत गरी फोनिजको आगामी नीतिबारेमा वहस चलाउनु हुनेछ ।

नीतिगत छलफल पछि दिउँसो १२ बजे विधान सम्मेलनको उदघाटन गर्ने कार्यसूची तय भएको संघीय समितिले जनाएको छ । छोटो उदघाटनसत्र पछि विधान परिमार्जन विषयमा छलफल शुरु हुनेछ । सो छलफलले फोनिजको विधान संशोधन गरी विधानलाई पूर्णता दिनेछ । फोनिजलाई पालिका स्तरमा विस्तार गर्न विधानमा व्यवस्था गर्न लागिएको छ ।

आदिबासी जनजाति पत्रकारको संख्या बृद्धि हुनेक्रम नियमित रुपमा भइरहेकाले आदिबासी पत्रकारलाई संगठित गर्दै पेशागत सुरक्षा, व्यावसायिकता तथा बृत्ति विकासका लागि एकै छातामुनि गोलबद्ध गर्न विधानमा संशोधन गर्न लागिएको संघीय समितिले जनाएको छ ।

त्यस्तै, फोनिजको उपत्यका विशेष प्रदेश समिति स्थापनाका लागि विधान संशोधन गरिदैछ । काठमाडौं उपत्यकामा रही पत्रकारिता गर्दैआएका आदिबासी जनजाति पत्रकारलाई फोनिजमा आवद्ध गराउन छापा, रेडियो, टेलिभिजन, अनलाइन, मातृभाषी पत्रकार तथा विधागत क्षेत्रमा कार्यरत पत्रकारलाई फोनिजमा समाहित गर्नका लागि विधानमा संशोधन गर्न लागिएको संघीय समितिका पदाधिकारीको भनाइ छ । फोनिजले विधान परिमार्जन समिति गठन गरेर मस्यौदा तयार गरेको छ । सो मस्यौदामाथि छलफल गरी सम्मेलनले पारित गर्नेछ ।

फोनिजको ६० जिल्लामा जिल्ला समिति, ७ प्रदेशमा प्रदेश समिति, ८ विदेश शाखा, ८ जातीय पत्रकार समिति रहेका छन् । फोनिजमा देशभरबाट करिब साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् । आदिबासी जनजातिको अधिकारमा पैरवी गर्न, पहिचानको मुद्दालाई सम्बोधन गराउन, देशभर रहेका आदिबासी जनजाति पत्रकारको एकताका लागि सामुहिक भावनाको विकास गर्न फोनिजले भूमिका निर्वाह गर्दैआएको छ । पत्रकार गजुरधन राईको अध्यक्षतामा फोनिजको ४७ सदस्यीय संघीय समिति रहेको छ ।

तपाईको प्रतिक्रिया