तेह्र बुँदे घोषणापत्र जारी गर्दै फोनिज विधान सम्मेलन सम्पन्न


हमार पहुरा डट कम
सर्लाही, फागुन २८ गते । सर्लाहीको हरिवनमा आइतबार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नीति तथा विधान सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले १३ बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ ।

शनिबारदेखि सुरु भएको सम्मेलन हरिवन घोषणापत्र जारी गर्दै आइतबार साँझ अबेर सम्पन्न भएको हो । फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईको अध्यक्षता तथा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँरातीको प्रमुख आतिथ्यतामा विधान सम्मेलन समापन भएको फोनिज सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकीले जानकारी दिनुभयो ।

सम्मेलनमा भाग लिन विभिन्न जिल्लाबाट आदिवासी जनजाति पत्रकारहरु सर्लाही आएका थिए । सम्मेलनलाई सम्वोधन गर्दै पर्यटनमन्त्री किराँतीले स्थानीय परिकार तथा सँस्कृतिको जगेर्ना गर्दै देशको पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री किराँतीले कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशको नामकरण नगरिएकोमा आफ्नो व्यक्तिगत असन्तुष्टी रहेको उल्लेख गर्नुभयो । आदिबासी पहिचानको संघर्ष अझै नसकिएको भन्दै उहाँले ढिलोचाँडो पहिचानको मुद्दा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । आदिबासी परिकार तथा संस्कृतिलाई पर्यटक भित्र्याउने प्रमुख आधारको रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।

फोनिजका अध्यक्ष गजुरधन राईले पनि पहिचानकै आधारमा प्रदेशको नामाङ्कन गराउन फोनिजको तर्फबाट पहलकदमी र साथ सहयोग जारी रहने बताउनुभयो ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै फोनिजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारको उत्थान र सहभागिता वृद्धिका लागि फोनिजले निरन्तर पहल गरिरहने चर्चा गर्नुभयो ।

कार्यक्रममा फोनिजका पूर्व केन्द्रीय अध्यक्ष दण्ड गुरुङ, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), बागमती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान र नेपाल पत्रकार महाङ्घ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैबीच, सम्मेलनले प्रदेश १ को नामकरण पहिचानको आधारमा गर्न माग गरेको छ । तत्कालिन नेपाल पत्रकार संघका संस्थापक सत्यनारयणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक सभापतिको रुपमा स्वीकार गर्न फोनिजले महासंघसँग माग गरेको छ ।
२०५६ साल जेठ २७ गते स्थापित फोनिजको ६० जिल्ला शाखा, ८ जातीय पत्रकार संस्था, ७ प्रदेश समिति, ८ विदेश शाखा रहेका छन् । यस संस्थामा देशभरबाट करिब साढे चार हजार आदिबासी पत्रकार आवद्ध छन् ।

हेर्नुहोस् सर्लाही घोषणापत्रको पूर्णपाठ

 

तपाईको प्रतिक्रिया