वार्तामार्फत युद्ध अन्त्य गर्न रसिया र यूक्रेनलाई एचडब्लुपीएलको आग्रह


हमार पहुरा डट कम
काठमाडौं, चैत ५ गते । दक्षिण कोरियामा मुख्य कार्यालय सञ्चालन गरी विश्व शान्तिको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दैआएको गैरसरकारी संस्था हेवेनली कल्चर, वल्र्डपिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले नेपालमा शाखा विस्तार गरी शान्तिको क्षेत्रमा सचेतना जगाउने कार्यक्रम गर्नेभएको छ ।

सो संस्थाकी नेपाल प्रतिनिधि इभा श्रेष्ठका अनुसार संस्था दर्ताको प्रक्रियामा रहेको बताउनुभयो । संस्था दर्ता गरेर शान्ति प्रक्रियामा काम गर्ने तयारी भएको उहाँको भनाइ छ । संयुक्त राष्ट्र संघमा आवद्ध रहेको सो संस्थाले विश्वभरी शान्तिको विषयमा जनचेतना फैलाउने गरी अभियान सञ्चालन गर्दैआएको जनाएको छ ।

हाल रसिया र युक्रेनबीच भइरहेको युद्धलाई तत्काल रोकी शान्ति प्रक्रियामार्फत समस्या समाधानका लागि सो संस्थाले विश्वव्यापी हस्ताक्षर संकलन गरिरहेको जनाएको छ । यसअघि गत मार्च १४ (फागुन ३०) गते रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र लेखी वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न लिखित आग्रह गरेको छ । संघका अध्यक्ष मान ही लीले पत्रमार्फत शान्ति प्रक्रियाबाटै समस्या समाधान खोज्न आग्ह गर्नुभएको संस्थाले जनाएको छ ।

एचडब्लुपीएल नेपाल शाखाले शनिबार यहाँ शान्ति प्रक्रिया र विद्यमान अवस्थाबारे पत्रकार तथा अन्य अगुवाहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । नेपालको शान्ति प्रक्रिया अझै टुंगोमा पुगिनसकेको अवस्थामा संस्थामार्फत शान्ति प्रक्रियाको विषयमा आवश्यक सहकार्य गर्ने सो संस्थाका प्रतिनिधि श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा पत्रकार रञ्जन झा, कानुन व्यवसायी बालकृष्ण मैनाली, अधिकारकर्मी झविन्द्र भण्डारी, पत्रकार लक्की चौधरी, वसन्त खड्का, अध्यापक विवाकालिका मल्ल लगायतले शान्ति विश्वभरिका सबैलाई अपरिहार्य भए पनि त्यसबारेमा आवश्यक सचेतना जगाउन संस्थामार्फत भूमिका खेल्न आग्रह गर्नुभएको थियो । शान्तिविना विकास सम्भव नरहेकाले शान्तिका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उहाँहरुले सुझाव थियो ।

संस्थाका प्रतिनिधि इभा श्रेष्ठले आगामी दिनमा सरोकारवाला सबै पक्षसँग र सरकारसँग समन्वय गरी शान्तिको क्षेत्रमा नेपालमा काम गर्ने बताउनुभयो । एचडब्लुपीएलले विश्व शान्तिका लागि स्थापनाकालदेखि भूमिका निर्वाह गर्दैआएको र आगामी दिनमा नेपालमा पनि शान्तिको क्षेत्रमा संस्थाले भूमिका निर्वाह गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया