मन्त्री मोदीसहित थारु आयोगका पदाधिकारी अमेरिका भ्रमणमा


हमार पहुरा डट कम
काठमाडौं, वैशाख १ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गर्नुभएको हो ।

कतार एयरवेजको उडान नम्बर क्यूआर–६५३ बाट मन्त्री मोदी नेतृत्वको टोली दोहा हुँदै अमेरिका पुग्नेछ । यो सत्र वैशाख ४ गतेबाट सुरु हुँदैछ । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिनुभयो । सत्र २८ अप्रिल २०२३ सम्म सञ्चालन हुनेछ ।

सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा छलफल हुनेछ । मन्त्री मोदीसँगै भ्रमण दलमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, आयोगका सदस्यहरु सुबोधसिंह थारु, भोलाराम चौधरी, डा. उमाशंकरप्रसाद चौधरी, आदिवासी जनजाति आयोगका सदस्य सूर्य गुरुङ, मन्त्री मोदीका प्रमुख स्वकीय सचिव बिरु मण्डल सहभागी छन् ।

तपाईको प्रतिक्रिया