‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ देशव्यापी रक्तदान अभियान


हमार पहुरा डट कम
काठमाडौं, वैशाख ९ गते । “रगत नालीमा होइन, नाडीमा बगाऔं’ बाबा हरदेव सिंह महाराजको भनाइलाई स्मरण गर्दै आज देशव्यापी रुपमा मानव एकता दिवस मनाइएको छ । सन्त निरंकारी सत्संग भवन ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरी आज एकता दिवस मनाइएको हो ।

सो अवसरमा १२१ जनाले रक्तदान गरेको निरंकारी मण्डल नेपालका ध्रुव अधिकारीले बताउनुभयो । रक्तदातामध्ये ८१ पुरुष र ४० जना महिलाले रक्तदान गर्नुभएको उहाँले जानकारी दिनुभयो । रक्तदान गर्नेहरुमा ध्रुवकुमार अधिकारी, राज महर्जन, हृदय गणेश, सुस्मा भण्डारी, सरिता महर्जन, आयुष निरौला, अविनाश शाक्य प्रधान, राजिव शाक्य, राजकुमार महर्जन, निसा श्रेष्ठ, विन्दु मल्ल, पुरुषोत्तम मगर, भावना कडायत लगायत रहनुभएको छ ।

एकता दिवसको उदघाटन प्रमुख महात्मा कृष्णबहादुर पन्थले गर्नुभयो । उहाँले भन्नुभयो, “समाज, मान्छे अहिले बदलिएका छन्, तेरो मेरो भावनाको विकास भएको छ, यस्तोबेला गुरु महाराजको आशीर्वचनको खाँचो छ, सबैलाई जोड्ने भावनाको विकासको खाँचो छ ।”

प्रतिनिधिसभाका सांसद तथा जसपाका नेत्री रञ्जु ठाकुरले मानव–मानवबीचको एकता अहिलेको प्रमुख आवश्यकता भएको चर्चा गर्नुहुँदै रक्तदानले मानिसलाई जोड्ने प्रमुख माध्यम भएको बताउनुभयो । “धर्मको नाममा धेरै किसिमको दान छन् तर रक्तदानजस्तो पवित्र र महान दान अरु कुनै छैन” उहाँले भन्नुभयो, “मुलुकलाई समाजवादमा लग्ने सही बाटो पनि एकता हो, समाजवादमा भेदभाव हुँदैन, एकअर्काबीच दूरी हुँदैन, सहयोगको भावना र अपनत्वबोध हुन्छ ।”

राजु शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्र महर्जन, मनु राणा, बाबुकाजी महर्जन, भरत वड, विवेक आउजी, रश्मी लिम्बु, कमला जैशी, वीरेन्द्र चौधरी लगायतले धारणा राख्नुभएको थियो । एकता दिवसको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको निरंकारीका सचिव अनिल महर्जनले बताउनुभयो । उहाँका अनुसार देशभरी आयोजित रक्तदान कार्यक्रममा करिब साढे नौसय जनाले रक्तदान गरेका छन् । रक्तदानपछि आयोजित प्रवचन कार्यक्रममा हजारौंको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया