लुम्विनी प्रदेशको चौथो मुख्यमन्त्रीमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी


हमार पहुरा डट कम
बुटवल, बैशाख १४ गते । लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार दिउँसो कांग्रेस संसदीय दलका नेता चौधरीले नयाँ सरकार गठनका लागि आठ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित दावी पेश गर्नुभएको थियो । नवनियुक्त मुख्यमन्त्री चौधरीले शुक्रवार दिउँसो साढे ११ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरीलाई कांग्रेससहित माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीसहितको समर्थन रहेको छ । गत पुस २७ मा नेकपा (एमाले) बाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लीला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत गुमाउनु भएपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन भएको हो ।

लुम्विनी प्रदेशका प्रदेश प्रमुख शेरचनले संविधानको व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि मंगलवार दलहरुलाई आह्वान गर्नुभएको थियो । सांसद चौधरी यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा पर्यटन, ग्रामीण तथा शहरी बिकासमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
(गोरखापत्र अनलाइनबाट)

तपाईको प्रतिक्रिया