मातृभाषा पत्रकारिताको व्यावसायिकतामा सरकार उदासिन रहेको आरोप


हमार पहुरा डट कम
काठमाडौं, वैशाख २२ गते । मातृभाषा पत्रकारिताको व्यावसायिकताप्रति सरकार उदासिन रहेको गुनासो गर्दै मातृभाषी पत्रकारले आवश्यक ऐन र नीति बनाउन माग गरेका छन् । नेवाः पत्रकार राष्ट्रिय दवुको आयोजनामा भएको आठौं मातृभाषा दिवसको अवसरमा मातृभाषी पत्रकारले सो माग गरेका हुन् ।

धर्मादित्य धर्माचार्य (जगतमान) बैद्यले नेपाल भाषामा सबैभन्दा पहिले मातृभाषा पत्रकारिताको शुरुवात गरेको दिनलाई मातृभाषा दिवसको रुपमा मनाउन दवुका मातृभाषी पत्रकारको माग रहेको छ । धर्मादित्यको १२१ औं जन्मजयन्तिको अवसरमा बिहीबार आयोजित कार्यक्रममा वक्ताहरुले मातृभाषा उत्थान र व्यावसायिकताका लागि सरकारले लगानी गर्न नसकेको बताएका थिए ।

मातृभाषा पत्रकारिताका अभियन्ता सुरेश किरण मानन्धरले मातृभाषाको व्यावासायिकताका लागि सरकारले अहिलेसम्म ऐन, नीति बनाउन नसक्दा मातृभाषा पत्रकारिता समस्यामा पर्दैआएको बताउनुभयो । मुलुक संघीय शासन व्यवस्थामा गए पनि मातृभाषा सञ्चार माध्यमका लागि कुनै सरकारी सहयोग नभएको र ऐन समेत बन्न नसकेको उहाँको गुनासो छ ।

पत्रकार गणेश राईले मातृभाषाका सञ्चार माध्यमलाई सरकारले प्राथमिकतामा नराखेकाले सरकारी अनुदान, विज्ञापन उपलब्ध हुन नसकेको बताउनुभयो । सरकारले मातृभषाका सञ्चार माध्यमका लागि सहयोग गर्ने कुनै ऐन, नीति नबनाउँदा मातृभाषी सञ्चार माध्यम संकटमा परेको उहाँले बताउनुभयो ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले सरकार मातृभाषा पत्रकारिताप्रति उदासिन भए पनि मातृभाषी समुदायलाई त्यसबारे सचेत गराउन नसक्दा समस्या भएको बताउनुभयो । अहिले स्थानीय तहमा मातृभाषी केही नेतृत्व आए पनि मातृभाषाको महत्वबारे बुझाउन नसक्दा सहयोग प्राप्त हुन नसकेको चर्चा गर्नुभयो । मातृभाषा पत्रकारिताको व्यावसायिकताका लागि मातृभाषा विज्ञसँग प्राज्ञिक वहस चलाई स्थानीय तहमा आवश्यक ऐन, नीति बनाउन दवाव दिन सकिने उहाँले सुझाउनुभयो ।

मातृभाषा पत्रकारिता आम पत्रकारिताभन्दा चुनौतीपूर्ण रहेको चर्चा गर्दै वरिष्ठ उपाध्यक्ष चौधरीले मातृभाषा सबै समुदायको पहिचान र शान भएकाले त्यसको व्यावसायिकताका लागि सरोकारवालाबीच छलफल गरी अगाडि बढ्न सकिने बताउनुभयो । समुदाय स्वयम् मातृभाषाको संरक्षणकर्ता रहेकाले समुदाय नै त्यसमा बढी जिम्मेवार हुनुपर्ने उहाँले चर्चा गर्नुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दवुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मातृभाषी पत्रकार राजु नापित, सुनिल महर्जन, केके मानन्धर, उपेन्द्र प्रधानलगायतले मातृभाषा दिवस तथा मातृभाषा पत्रकारिताका विषयमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया