पुनःस्थापना गर्न बाँकी रहेका मुक्त कमैया र हलियाको पुनःस्थापना गर्न माग


हमार पहुरा डट कम
काठमाडौं, वैशाख ३० गते । मुक्त कमैया, कमलहरी तथा हलिया, हरवाचरवाले सरकारसँग पुनःस्थापनाको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ती समुदायका प्रतिनिधिले सिंहदरवारमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पुनःस्थापना हुन बाँकी रहेका मुक्त कमैया, कमलहरी, हलिया र हरवाचरवाको समस्याबारे आफू जानकार रहेको र पुनःस्थापनाको पहलकदमी लिइने आश्वासन दिनुभयो ।

भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको समेत उपस्थितिमा सो समुदायका प्रतिनिधिले ज्ञापनपत्र बुझाएका हुन् । भूमि व्यवस्था मन्त्रालयले तयार गरेको कमैया पुनःस्थापना कार्यबिधि २०७९ पारित गरी हरवाचरवाको लगत संकलन र छुट मुक्त कमैया, हलियाको यथाशीघ्र लगत लिई पुनःस्थापना गर्न आवश्यक बजेट बिनियोजनको माग उनीहरुले गरेका हुन ।

नागरिक अगुवा श्याम श्रेष्ठले सरकारले तत्काल बाधा मजदुरको समस्या समाधान गर्न पहल गर्न अनुरोध गर्नुभयो । ज्ञापनपत्र बुझाउने क्रममा मुक्त कमैयाका प्रतिनिधि, कम्लहरी, हलिया र हरवाचरवा अगुवाहरुको सहभागिता रहेको थियो ।

त्यस्तै सासद हरि चौधरी, पूर्व सांसद हरि श्रीपाइली, आरडिएनका अध्यक्ष गणेश विके, अधिवक्ता बालाराम भट्टराई, ईश्वर सुनारसहित मुक्त कमैया, हलिया, हरवाचरवाहरुको क्षेत्रका कार्यरत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया