नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी रिहा, कार्यकर्तामा उत्साह


हमार पहुरा डट कम
काठमाडौं, जेठ १५ गते । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा दोषी ठहर भई जेल जिवन विताउँदै आएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरी जेलबाट आज गणतन्त्र दिवसका दिन रिहा हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा उहाँको कैद सजाय माफी दिनु भएपछि उहाँ जेलबाट मुक्त हुनुभएको हो ।

मन्त्रिपरिषद् बैठकले हिजो आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पाँच वर्ष ३ महिना जेल सजाय काट्नुभएका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको छ । चौधरी रिहा भएपछि कार्यकर्तामा उत्साह र खुशी देखिएको छ । रेशमलाई स्वागत गर्न उहाँका परिवारका सदस्य, पार्टीका कार्यकर्ता डिल्लीबजार कारागार परिसर पुगेका थिए । उहाँलाई फुलमालाले स्वागत गरिएको छ ।

२०७२ भदौ ७ मा टीकापुरमा अधिकारको माग गर्दै भएको प्रदर्शनमा हिंसात्मक झडप भएपछि ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रेशमलाई जन्मकैदको सजाय हुनेगरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले फैसला गरेको थियो । सोही फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो ।

रेशम आफू घटनामा संलग्न नरहेको अभिव्यक्ति दिंदै आउनुभएको थियो । टीकापुर घटनामा संलग्न भएको आरोपमा उहाँको घर, एफएममा आगजनी गरिएको थियो । सो बापत सरकारले राहत प्रदान गरे पनि टीकापुरका नागरिकबीचको सदभाव कायम हुन अझै सकेको छैन । टीकापुरका जनताको सदभावका लागि आफू भूमिका खेल्ने रेशमले प्रतिवद्धता जनाउनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीको गतिविधि सक्रिय बनाएर आगामी निर्वाचनमा मुलुकको बागडोर सम्हाल्नेगरी पार्टीलाई स्थापित गर्ने उहाँले अभिव्यक्ति दिनुभएको छ । आफ्नो रिहाइका लागि भूमिका खेल्ने आफ्नो श्रीमती रञ्जिता श्रेष्ठ चौधरी, राजनीतिक दल, शुभेच्छुक सबैमा उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया