बेहडाबाबा गंगादशहरा मेला शुरु, उपमहानगरभरी सार्वजनिक विदा


हमार पहुरा डट कम
धनगढी, जेठ १५ गते। कैलालीको धनगढी उपमहानगरपालिका वडा १६ रामपुरमा पर्ने प्रसिद्ध बेहडाबाबा मेला शुरुभएको छ । मंगलबार पर्ने गंगादशहराका अवसरमा धनगढी उपमहानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गङ्गा दशहराको अवसरमा धनगढी उपमहानगरपालिका–१६ स्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा लाग्ने धार्मिक मेलाको अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तीथिका दिन मनाइने गङ्गा दशहराको अवसरमा बेहडाबाबामा पाँच दिनसम्म धार्मिक मेला लाग्ने गर्दछ।

मेला भर्नका लागि नेपाल–भारतबाट ठूलो सङ्ख्यामा तिर्थालुहरु बेहडाबाबा मन्दिर पुग्ने गर्छन् । बेहडाबाबाको दर्शनका लागि भारतीय तिर्थालु आउनेक्रम सुरु भएको छ। मेलामा देश विदेशका गरी ५० हजार बढी दर्शनार्थी आउनेगरेको मन्दिर व्यवस्थापन समितिको भनाइ छ ।

बेहडाबाबालाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेकाले यसको महत्त्वलाईसमेत दृष्टिगत गरेर यसलाई पर्वकै रूपमा मनाउनका लागि एक दिन स्थानीय बिदाको रूपमा सार्वजनिक बिदा दिइएको नगर प्रमुख गोपाल हमालले जानकारी दिनुभयो। सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सङ्घसंस्था बन्द रहने धनगढी उपमहानगरपालिकाले जनाएको छ।

प्राचीन कालमा भगवान शीवको लिङ्ग त्यहाँ फेलापछि मन्दिर निर्माण गरिएको थियो । सो मन्दिरमा दर्शन गरेमा मनोकामना पूरा हुने भक्तजनहरुको विश्वास छ । रामपुर गाउँमा पर्ने सो मन्दिरमा विभिन्न समयमा मेला लाग्नेगर्छ । सबैभन्दा ठूलो मेला भने गंगादशहराकै दिन लाग्नेगरेको छ । मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने र मेलामा समेत देश विदेशका नागरिकको ठूलो सहभागिता रहने गरेको मेला व्यवस्थापन समितिको भनाइ छ ।

तपाईको प्रतिक्रिया