थारु समुदायका धरोहर पूर्व राज्यमन्त्री महेश चौधरीको निधन


हमार पहुरा डट कम
दाङ, जेठ २४ गते । पूर्व राज्यमन्त्री, थारु समुदायका एक धरोहर तथा संविधान सभा सदस्य महेश चौधरीको निधन भएको छ । दंगीशरण गाउँपालिका –४ वैवाङ निवासी चौधरीको ७० वर्षको उमेरमा उपचारका क्रममा आज निधन भएको हो ।

चौधरीको बुधबार मध्यान्ह राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताउनुभएको छ । उहाँ २०५३ सालमा स्थानीय विकास राज्यमन्त्री र २०६४ सालमा संविधान सभा सदस्य हुनुहुन्थ्यो । २०४८ सालमा राष्ट्रिय सभा सदस्यको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।

चौधरी राजनीतिका साथै पत्रकारिता, साहित्यिक लेखन क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । २०२८ सालमा दाङ जिल्लामा चलेको पञ्चायतविरुद्धको ‘गोचाली’ पत्रिका प्रकाशन गरी अभियान सञ्चालन गर्नुभएको थियो । सो पत्रिकाको प्रधान सम्पादक भएर उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

चौधरीले लेख्नुभएको ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरु’, ‘स्थवीरहरुको प्राचीन इतिहास र संस्कृति’, ‘दि हिडन ट्रेजर अफ दि लो ल्याण्ड अफ नेपाल’, ‘थारु भाषा लिरौसी व्याकरण’ पुस्तक चर्चित छन् । उहाँले छारा गीति नाटक पनि लेख्नुभएको छ । उहाँका अझै आधा दर्जन कृति प्रकाशोन्मुख रहेको परिवारका सदस्यको भनाइ छ ।
केही समय महेन्द्र बहुमुखी क्याम्पस दाङमा अध्यापन समेत गर्नुभएका महेश चौधरी नेकपा (एमाले) मा आवद्ध हुनुहुन्थ्यो । यसअघि केन्द्रीय सल्लाहकार कमिटीको सदस्य भएर पनि जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

पछिल्लो समय गाउँमै जैविक मल उत्पादनका लागि उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा एक छोरी हुनुहुन्छ । उहाँको भोलि बिहीबार दाहसंस्कार गरिने जनाइएको छ । सो अघि एमाले दाङ पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर राखिने जनाइएको छ । उहाँको दुःखद निधनप्रति थारु समुदायका अगुवाहरुले दुःख व्यक्त गर्दै समाज र देशले एक होनहार व्यक्तित्व गुमाएको प्रतिक्रिया दिनुभएको छ ।

तपाईको प्रतिक्रिया