काठमाडौं उपत्यकासहित पश्चिमी थारु समुदायमा आज गुरही पर्व मनाइँदै


हमार पहुरा डट कम
काठमाडौं, भदौ ४ गते । पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायले यस आर्थिक वर्षको पहिलो पर्व आज गुरही (नागपञ्चमी) मनाइँदै छन् । तराईका जिल्लामा रहेको थारु गाउँमा आज सो पर्व मनाउन लागिएको हो ।

गुरही पर्व बालबालिकासँग सम्बन्धित पर्व मानिन्छ । तर अहिले वयस्क युवायुवतीले पनि यो पर्व मनाउन थालेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही बनाएर साँझतिर गुरही सेलाउने प्रचलन छ । बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) लुटाउने गर्छन् । गाउँभरका मानिस जम्मा भएको गाउँको चौराहमा भुजा वितरण गर्ने गरिन्छ । गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने गर्छन् । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।

गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास छ । यसैगरी, गुरही पर्व मनाउनाले बालबालिकालाई लाग्ने रोग आँखा पाक्ने, ज्वरो आउनेजस्ता रोगबाट छुटकारा पाउने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको रुपमा लिइन्छ ।

परापूर्वकालदेखि हरेक थारु गाउँमा यसलाई पहिलो पर्वको रूपमा मनाइने चलन छ । गुरही पर्वलाई युवापुस्तामा हस्तान्तरण गर्न विभिन्न थारु गाउँमा सामुहिक रुपमा बालबालिकासँगै यो पर्व मनाउने गरिन्छ । गाउँका बरघरको नेतृत्वमा जम्मा भएका बालबालिका तथा युवायुवतीले एकापसमा रमाइलो गरी यो पर्व मनाइने गरिन्छ ।

पर्व मनाउन गाउँका युवायुवतीहरु थारु पहिरन र सजावतमा जम्मा भएका हुन्छन् । उपस्थित सबैलाई वितरण गर्न घरमै भुटेका विभिन्न भुजा परिकार पनि लगिएको हुन्छ । गुरही अस्राइसकेपछि सबैलाई भुजा वितरण गर्ने प्रचलन छ । खेतको रोपाइँ सकेर आउने यो पर्वले थारु समुदायका सदस्यमा शितलता प्रदान गर्ने गरेको थारु संस्कृतिका जानकारहरुको बुझाइ छ । काम सकेर फुर्सद भएका बेला चाड पर्वको सुरुवात भएपछि रमाइलो गरी पर्वको स्वागत गर्ने र मनाउने प्रचलन रहेको थारु सांस्कृतिक अगुवा नन्दुराज चौधरीले बताउनुभयो ।

गुरही पर्वको अवसरमा उपत्यकामा बसोबास गर्ने थारु समुदायले पनि आज भृकुटीमण्डपमा गुरही पर्व मनाउने तयारी गरेका छन् । काठमाडौंमा काम विशेषले बसोबास गर्दैआएका युवायुवतीहरुले सामुहिक रुपमा गुरही पर्व हरेक वर्ष मनाउँदै आएका छन् ।  चौधरीका अनुसार आज साँझ प्रदर्शनी मार्गमा सांस्कृतिक कार्यक्रम गरी गुरही पर्व मनाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया