पत्थरी अपरेशनमा मिर्गौला फाल्दा बिरामी ऐजनलाल चौधरीको मृत्यु


अविनाश चौधरी
धनगढी, भदौ ११ गते । कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा पत्थरीको अपरेशन (सल्यक्रिया) गरिएका बिरामीको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका –१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । पत्थरीको अपरेसनपछि चिकित्सकले किड्नी (मिर्गौला) झिकेर फाल्दा अत्यधिक रक्तस्राव भइ बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

मृतकका भतिजा राजकुमार चौधरीका अनुसार बाँया किड्नीमा भएको पत्थरीको अप्रेसनपछि रक्तस्राव सुरु भएको थियो । “त्यसपछि अपरेसनमा संलग्न डाक्टरले नसा काटिएको स्वीकार्दै मान्छेको ज्यान जोगाउन किड्नी फाल्नु पर्ने भन्दै किड्नी या ज्यान रोज्न भनेका थिए”, चौधरीले भन्नुभयो, “यस्तो भनेपछि स्वभाविक रुपमै हामीले ज्यान रोजेका हौं । तर, किड्नी झिक्दा काकाको मृत्यु भयो ।”

सामान्य अवस्थामा उपचारका लागि ल्याएको काकालाई चिकित्सकको लापरवाहीका कारण गुमाउनु परेको उहाँले बताउनुभयो । “दुखाइ केही थिएन । किड्नीमा पत्थरी किन राख्ने भनेर राम्रै अवस्थामा अपरेसनका लागि मैले नै लिएर आएको हँु” उहाँले भन्नुभयो, “नर्मल अपरेसनमै भइहाल्छ भनेर बाँया किड्नीको अपरेसन गरेका डाक्टरले नसा काटेर काकाको ज्यानै लिए ।”

आफन्तका अनुसार मृतक चौधरीको बाँया किड्नीमा ११ एमएम र नौ एमएमको गरेर दुई वटा, दायाँ किड्नीमा नौ एमएमको एउटा पत्थरी थियो । पहिले एउटा किड्नीमा भएको पत्थर निकाल्नेभन्दै चिकित्सकले बाँया किड्नीको पत्थरीको अपरेसन गर्नुभएको थियो । नर्मल (सामान्य) अपरेसनमै पत्थरी झिक्न सकिने भन्दै दुई वटै किड्नीको पत्थरीको अपरेसनको ५०–५० हजार गरी एक लाख रुपियाँमा अपरेसन हुने अस्पतालले भनेको मृतकका भतिजाले बताउनुभयो ।

भदौ ९ गते शनिबार अस्पतालमा अपरेसन गरेर वार्डमा सारिएका बिरामीको पेट फुलेर स्वास्थ्य अवस्था बिग्रिएपछि डाक्टरले तुरुन्त अर्को अपरेसन गरेर किड्नी फाल्नु पर्ने सुझाएको परिवारले बताएका छन् ।

अवस्था झनै बिग्रिएपछि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । पीआरपीपी र पूरा रगत गरेर काकालाई २३ पोका रगत दिइएको राजकुमारले बताउनुभयो । अस्पतालले आज विहान ९ बजेमात्रै चौधरीको मृत्यु भएको अस्पतालले घोषणा गरेको छ । यद्यपि, मृतकका आफन्तले डाक्टरको लापरवाहीको कारण हिजो नै आफ्नो बिरामीको मृत्यु भएको र गल्ती ढाकछोप गर्न लामो समय आइसीयुमा राखेको जिकिर गरेका छन् । आफन्तले अहिलेसम्म शव बुझेका छैनन् ।

बिरामीको मृत्यु भएपछि अस्पताल व्यवस्थापन समिति र मृतक परिवारका सदस्यबीच आज छलफल भएको छ । त्यसबाट कुनै निस्कर्ष ननिस्केको मृतकका छोरा बुधिराम चौधरीले बताउनुभयो । उहाँले घटनाको छानबिन र दोषीमाथि कारबाहीका लागि प्रहरीमा उजुरी दिइएको बताउनुभयो ।

यसैबीच, अस्पतालका अध्यक्ष महेश जोशीले बिरामीको अपरेसनमा चिकित्सकबाट लापरवाही नभएको दावी गर्नुभयो । “मेडिकली लापरवाही भन्ने कुरा हुँदैन । किड्नीमा भएको पत्थरीको अपरेसन गर्दा ब्लिडिङ भयो । त्यो नरोकिने अवस्था आएपछि अर्को अपरेसन गरेर किड्नी झिकिएको हो” उहाँले थप्नुभयो, “मिर्गौलामा ब्लिडिङ भएमा सिलाउने वा केही गर्ने सम्भावना हुँदैन । त्यसको अन्तिम विकल्प भनेकै किड्नी निकाल्नु नै हो । बिरामीको ज्यान जोगाउन अन्तिम विकल्प अपनाउँदा उहाँलाई बचाउन सकिएन ।”

गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया