विरामीको मृत्युपछि परिवारका सदस्यलाई २२ लाख रुपियाँ क्षतिपूर्ति


हमार पहुरा डट कम
धनगढी, भदौ १२ गते । धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले विरामीको उपचारको क्रममा मृत्यु भएपछि मृतक परिवारका सदस्यलाई क्षतिपूर्ति स्वरुप २२ लाख रुपियाँ उपलब्ध गराएको छ ।

सो अस्पतालमा पत्थरीको अपरेसन बिग्रेपछि मिर्गौला झिकिएका कञ्चनपुरको बेलौरी नगरपालिका –१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको सोमबार मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका थिए ।

सोमबार अबेर राति अस्पताल र मृतक पक्षबीच भएको छलफलमा क्षतिपूर्ति दिने सहमति भएको थियो । अस्पतालले क्षतिपूर्तिस्वरुप मृतकका छोरा ज्योतिप्रकाश चौधरीलाई पढाई खर्च र छोरीको विवाह खर्चबापत सो रकम उपलब्ध गराएपछि शव बुझेको मृतकका भतिजा राजकुमार चौधरीले जानकारी दिनुभयो ।

मृतकका छोरा ज्योतिप्रकाश चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा यसैवर्षबाट एमबीबीएस अध्ययन गरिरहनूभएको छ । यसैगरी, घटनाबारे छानविन गर्ने र चिकित्सकको लापरवाही पुष्टि भएमा दोषीमाथि कारबाही गर्ने सहमति भएको मृतकका भतिजाले बताउनुभयो ।

भदौ ९ गते सो अस्पतालमा पत्थरीको सल्यक्रिया गरिएका ऐजनलालको सोमबार विहान मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । बायाँ मिर्गौलामा रहेको पत्थरीको सल्यक्रियापछि उहाँको अत्यधिक रक्तस्राव भएर मृत्यु भएको थियो । रगत बग्नेक्रम नरोकिएपछि चिकित्सकले दोस्रो पटक सल्यक्रिया गरेर चौधरीको मिर्गौला झिक्नू भएको थियो । अस्पतालका चिकित्सक डा. जोनस तिवारीले विरामी चौधरीको सल्यक्रिया गर्नुभएको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश जोशीले मृतकका परिवारलाई किरियाखर्च बापत २५ हजार रुपियाँ उपलब्ध गराएको बताउनुभयो । “उहाँहरुको माग एक करोड थियो । त्यसपछि आधा भन्ने थियो” जोशीले भन्नुभयो, “माग धेरै रहेकाले हामीले त्यति दिन नसक्ने भन्यौं । किरिया खर्च दिएका छौं ।” यस्तै, अस्पतालले आन्तरिक जाँचबुझ गर्ने तर चिकित्सकमाथि कारबाही गर्ने भनेर पीडित पक्षसँग सहमति नगरेको दावी गर्नुभयो ।
गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया