विश्व शान्तिको सन्देश दिनेगरी एचडब्लुपीएल संस्थाले वार्षिकोत्सव मनाउँदै


हमार पहुरा डट कम
काठमाडौं, भदौ १९ गते । विश्वभर दिगो शान्ति कायम गर्ने र शान्तिको महत्वबारे सचेतना जगाउने संस्था हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले आगामी सेप्टेम्बर १८ देखि २० (असोज १ देखि ३) सम्म आफ्नो नवौं वार्षिकोत्सव भव्यताकासाथ मनाउने भएको छ ।

रिपब्लिक अफ साउथ कोरियाको राजधानी सिवलमा सो संस्थाले आफ्नो वार्षिकोत्सव मनाउँदैछ । विश्वको १६ औं ठूलो र सुन्दर शहरको रुपमा स्थापित सिवलमा एचडब्लुपीएलको केन्द्रीय कार्यालय रहेको छ । सन् २०१३ मा स्थापना भएको यो संस्था शान्ति कायम गर्ने क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो ।

विश्व शान्तिका विषयमा वार्षिकोत्सव कार्यक्रममा विभिन्न गोष्ठी र छलफल हुने आयोजक संस्थाले जनाएको छ । विश्वभरि दिगो शान्ति स्थापनाका विविध आयाममा गोष्ठीमा छलफल हुनेछ । कार्यक्रममा विश्वका धेरै देशबाट शान्ति क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधि, पत्रकारको सिवलमा जमघट हुने आयोजक संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष मान ही लीको अध्यक्षतामा तीन दिनसम्म शान्तिका विषयमा छलफल र अन्तरक्रिया हुनेछ । युवाका लागि शान्ति, दिगो विकासका लागि शान्तिको अपरिहार्यता विषयमा गोष्ठीमा छलफल हुने बताइएको छ ।

संस्थाका अध्यक्ष ही लीले स्न २०१३ देखि विश्वका विभिन्न देशको शान्ति प्रक्रियाका विषयमा अध्ययन गरी एचडब्लुपीएल मार्फत विश्वभरी दिगो शान्तिको पहल गर्दैआउनुभएको छ । सो क्रममा उहाँले अहिलेसम्म एकसय बढी देशको भ्रमण गरी दिगो शान्तिका विषयमा छलफल र अन्तरक्रिया गर्नुभएको सो संस्थाले जनाएको छ ।

वार्षिकोत्सवमा विश्वभरबाट प्रतिनिधित्व गर्ने कानून व्यवसायीहरुसँग दिगो शान्ति कायम गर्ने उपायका बारेमा छलफल हुने एचडब्लूपीएलले जनाएको छ । त्यस्तै, दिगो शान्तिका लागि धार्मिक गुरुहरुसँग पनि संस्थाले छलफल र अन्तरक्रिया कार्यक्रम गर्नेभएको छ ।

तपाईको प्रतिक्रिया