पशुपति आर्यघाटमा अन्तिम संस्कारअघि नेम्वाङको बिहीबार शवयात्रा गरिने


हमार पहुरा डट कम
काठमाडौं, भदौ २७ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भोलि बिहीबार विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्तिम संस्कार गरिने भएको छ । सो अघि उहाँको शवयात्रा निकालिने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार बिहीबार विहान बालुवाटारबाट शवयात्रा शिक्षण अस्पताल–महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही– चावहिल–गौशाला हुँदै पशुपति आर्यघाटमा लगिने छ ।

अन्तिम श्रद्धाञ्जलि अर्पणका लागि निजी सवारी साधन हुनेहरु शंखपार्क, धुम्बाराही र सवारी साधन नहुनेहरु गौशालाको वडा प्रहरी कार्यालय अगाडिबाट श्रद्धाञ्जलि अर्पण गर्न सक्ने व्यवस्था मिलाइएको सचिव विष्टले बताउनुभयो ।

दिवंगत उपाध्यक्ष नेम्वाङको पार्थिक शरीर आज दिउँसो १ बजेसम्म पार्टी मुख्यालय च्यासलमा राखिएको थियो । सोपछि बालुवाटारस्थित उहाँको निजी निवासमा लगिएको छ ।
चीन भ्रमणमा जानुभएका पार्टी महासचिव शंकर पोखरेलले आज पार्टी मुख्यालयमा गएर नेम्वाङप्रति पुष्पगुच्छ अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । त्यस्तै, आज विभिन्न राजनीतिक दलका नेताहरु, कुटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु, उच्च पदस्थ अधिकारीहरुले पनि पार्टी मुख्यालयमा पुगी नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

बिहीबार हुने नेम्वाङको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय सरकारले गरेको छ । सरकारले सार्वजनिक विदा पनि दिने निर्णय गरेको छ । नेता नेम्वाङको मंगलबार विहान १ः५० मिनेटमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया