मिडियाले गाउँकेन्द्रित मुद्दा उठाउनु पर्छ : मुख्यमन्त्री डिल्लीबहादुर चौधरी


हमार पहुरा डट कम
सिद्धार्थनगर, भदौ २७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडियाले गाउँकेन्द्रित मुद्दा उठाउनुपर्ने बताउनुभएको छ । पत्रकारले नेताका मात्रै समाचार होइन, समाजका हरेक मुद्दालाई विश्लेषण गरेर खोज अनुसन्धानमुलक समाचार लेख्नपर्ने उहाँको भनाइ छ ।

रुपन्देहीको बुटवलबाट सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औँ बार्षिकोत्सव तथा तीज बिशेष समारोहलाई उदघाटन गर्दै उहाँले मिडियाले सबैलाई सही बाटो देखाउनुपर्ने उल्लेख गर्नुभयो ।

‘अबको पत्रकारिता गाउँ, रोजगार केन्द्रित गरौँ, तपाइँहरु, गुल्मीको गुँड, पाल्पाको ढाकाको लेख्दिनुस्, किसान मजदुरका एजेण्डा उठाउनुस्’ उहाँले भन्नुभयो, —‘हरेक चीजको प्रचारप्रसार र ब्रान्डिङमा मिडियाको रोल रहन्छ ।’

उहाँले सरकारलाई सही बाटोमा हिडाउन सही आलोचना गर्न आग्रह गर्दै सरकार हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । प्रदेश सरकारले मिडियालाई सकारात्मक रुपमा हेरेको बताउँदै प्रदेशको विकास र समृद्धिका लागि रचनात्मक भूमिकामा रहन मिडियालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्ना घर अगाडिको बाटो बने सरकारले राम्रो गरेको हुने नत्र नहुने परम्परा छ, अब बिकासको मोडल बदल्नुपर्ने छ, बिकास भनेको बाटो मात्रै होइन, आर्थिक तथा मानवीय बिकास पनि हो ।’ चौधरीले बुटवललाई आर्थिक राजधानी बनाउन कन्सेप्ट पेपर बनाएर ल्याउन बुटवल उपमहानगरपालिकालाई आग्रह समेत गर्नुभयो ।

मुख्यमन्त्री चौधरीले मुलुकको आर्थिक विकासविना युवा पलायन रोक्न नसकिने बताउँदै युवा पलायन रोक्न पनि आर्थिक विकास गर्नुपर्ने र त्यसको लागि औद्योगिक विकास गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले बताउनुभयो । बुटवल उपमहानगरपालिकाका अध्यक्ष खेलराज पाण्डेयले बुटवलको विकासका लागि प्रदेश सरकारबाट सहयोगको आशा व्यक्त गर्नुभयो ।

सो अबसरमा प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेशसभाले नयाँ प्रहरी ऐन र निजामती ऐन ल्याएको भन्दै सरकार मिडियामैत्री बन्नुपर्ने बताउनुभयो । प्रदेश सांसद जमुना ढकालले मिडियाहरु सन्तुलित समाचार दिनुपर्ने बताउँदै तीजमा चेलीबेटीले संस्कृति मनाउन होटल जाँदा पनि समाजले बिरोध गरेको भन्दै आपत्ती जनाउनुभयो । कार्यक्रममा पत्रकार ओम ज्ञवालीले पनि धारणा राख्नुभयो ।
गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया