विश्व शान्तिको सन्देशका लागि सोमबारदेखि कोरियामा शिखर सम्मेलन हुँदै


हमार पहुरा डट कम
इन्चिवन (कोरिया), भदौ ३१ गते । विश्वभरी दिगो शान्ति कायम गर्ने र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसाथ भोलि सोमबार विहानदेखि दक्षिण कोरियाको ग्राण्ड बालरुम (वेष्ट टावर) मा शान्तिबारे सचेतना जगाउने उद्देश्यले तीन दिने शिखर सम्मेलन सुरु हुँदैछ ।

सम्मेलनबारे जानकारी गराउन विहान साढे १० बजे पत्रकार सम्मेलन गर्ने तयारी गरिएको आयोजक संस्थाले जनाएको छ । दक्षिण कोरियाको राजधानी सिवलमा केन्द्रीय कार्यालय रहेको हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) का अध्यक्ष ली मान हीले गर्नुहुनेछ ।

शान्तिको क्षेत्रमा कार्यरत स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आयोजनामा हुने कार्यक्रम असोज १ देखि ३ गते (सेप्टेम्बर १८ देखि २०) सम्म सम्मेलन हुन लागेको हो । एचडब्लुपीएल को नवौं वार्षिकोत्सवको अवसरमा विश्व शान्ति सम्मेलन हुन लागेको सो संस्थाको भनाइ छ ।

सम्मेलनमा दिगो शान्तिका लागि शान्ति क्षेत्रमा कार्यरत विश्वका नेताहरुको छलफल कार्यक्रम, अन्तर्रााष्ट्रय युवा शान्ति गोष्ठी, धार्मिक गुरुहरुबीच गोष्ठी, अन्तर्राष्ट्रिय महिलाको गोष्ठी आयोजना हुने आयोजक संस्थाले जनाएको छ ।

विश्वमा दिगो शान्ति कायम गर्नेगरी सबै पक्षमा यसबारे सचेतना जगाउन विश्वभरका सरोकारवालाहरुलाई गणतन्त्रात्मक मुलुक कोरियामा भेला गरेर कार्यक्रम आयोजना भइरहेको एचडब्लुपीएलले जनाएको छ । सम्मेलनले दिगो शान्ति विश्वभरी फैलाउनेगरी संयुक्त प्रस्ताव तयार गर्ने जनाएको छ ।

सन् २०१३ मा स्थापना भएको यो संस्था शान्ति कायम गर्ने क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने संस्थाको रुपमा स्थापित छ । सम्मेलनमा विश्वभरबाट एक हजार ८०० जना प्रतिनिधिहरुसहित उदघाटनसत्रमा करिब १० हजारको सहभागिता रहने आयोजक संस्था एचडब्लुपीएलका नेपाल संयोजक डियना किमले जानकारी दिनुभयो ।

विश्वभरि दिगो शान्ति स्थापनाका विविध आयाममा सम्मेलनमा छलफल हुनेछ । कार्यक्रममा विश्वका धेरै देशबाट शान्ति क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधि, पत्रकारको सम्मेलनमा सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष मान ही लीको अध्यक्षतामा तीन दिनसम्म शान्तिमा केन्द्रित भएर छलफल र अन्तरक्रिया हुनेछ । कार्यक्रममा विभिन्न विज्ञले शान्तिका विविध आयामबारेमा आफ्नो प्रस्तुति गर्नुहुनेछ ।

संस्थाका अध्यक्ष ही लीले स्न २०१३ देखि विश्वका विभिन्न देशको शान्ति प्रक्रियाका विषयमा अध्ययन गरी एचडब्लुपीएल मार्फत विश्वभरी दिगो शान्तिको पहल गर्दैआउनुभएको छ । सो क्रममा उहाँले अहिलेसम्म एक सय बढी देशको भ्रमण गरी दिगो शान्तिका विषयमा छलफल र अन्तरक्रिया गर्नुभएको सो संस्थाले जनाएको छ ।

आफ्नो संस्थाको ९ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष हीले नागरिकले मनैबाट शान्तिको महशुस नगरुन्जेल शान्ति कायम हुन नसक्ने बताउनुभयो । अँध्यारो रातमा पनि आशारुपी चाँदीको घेरा रहने हुनाले सबैको प्रयास र हातेमालोले विश्वमा शान्ति कायम सम्भव रहेको उहाँले बताउनुभयो ।

युद्धको पीडा हामी सबैलाई जानकारी भएकाले शान्तिको बीउ छर्नका लागि आफू नेतृत्वको संस्था एचडब्लुपीएलले काम गरिरहेको उहाँले बताउनुभयो । विश्वभरका नागरिकले मनैबाट शान्तिको अनुभूति गर्न सकेमा विश्वलाई एक मालामा उन्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । सोही प्रयासमा आफू नेतृत्वको संस्थाले नागरिकको मन जोड्ने अभियान सुरु गरेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया