विश्वभरी शान्ति कायम हुनसके मात्र यो पृथ्वी सुरक्षित हुन्छ : अध्यक्ष ली मान ही


हमार पहुरा डट कम
इन्चोन (कोरिया), असोज १ गते । हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) का अध्यक्ष ली मान हीले आफ्नै कार्यकालमा विश्वमा दिगो शान्ति छाएको हेर्ने चाहना रहेको बताउनुभएको छ । सो संस्थाको सोमबार यहाँ आयोजित नवौं वार्षिकोत्सव तथा विश्व शान्ति सम्मेलनमा उहाँले सो चाहना व्यक्त गर्नुभएको हो ।

आफ्नो जीवनकालमा युद्धको प्रत्यक्ष पीडा भोगेको आफूलाई अनुभव रहेको र त्यसको पीडा राम्रोसँग जानकारी रहेकाले विश्वमा शान्ति स्थापना गर्न आफूले अभियान सुरु गरेको उहाँले चर्चा गर्नुभयो । शान्तिविना दिगो विकास, सामाजिक एकता, सहिष्णुता र मानवीयता सम्भव नरहेकाले पहिले शान्ति कायम गर्नमै सबैले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

युद्धका बेला आफू बाँचेपछि नयाँ जीवन प्राप्त गरेको अनुभव भएको र सोपछि जीवनभर शान्ति स्थापना गर्ने अभियानमा लाग्ने प्रण गरेको उहाँले बताउनुभयो । एचडल्बुपीएल संस्था खोलेर सन् २०१४ बाट आफूले विश्वभर शान्तिको महत्व र यसको आवश्यकताबारेमा जनचेतना फैलाउने अभियान सुरु गरेको उहाँले प्रष्ट पार्नुभयो ।

शान्ति कायम गर्न गफ गरेर मात्र नहुने चर्चा गर्नुहुँदै अध्यक्ष हीले भन्नुभयो, “मान्छे मारेर होइन, मान्छेलाई बाँच्न दिएर दिगो शान्ति कायम हुनसक्छ । शान्ति कायम गर्न पहिले हतियार उत्पादनको काम बन्द गर्नुपर्छ । हतियार बनाइरहने र शान्तिको कुरा गर्नु नसुहाउने कुरा हो ।” विश्वमा शान्ति कायम नभए संसारमा केही बाँकी नरहने उहाँले चर्चा गर्नुभयो । विश्वलाई युद्धबाट बचाउन र विश्वको अस्तित्व जोगाउन युद्ध रोक्नैपर्छ र त्यो दिगो शान्तिको माध्यमबाट मात्र सम्भव रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष हीले भन्नुभयो, “युवापीढी र आउने पीढीलाई शान्ति सुम्पन्न हामीले आजैदेखि डटेर काम गर्नुपर्छ । यो एक जनाको प्रयासले सम्भव हुने कुरा होइन, सबैको साझा प्रयास र भावनात्मक एकताले मात्र यो काम पूरा हुन्छ । के हामी त्यसका लागि सबै तयार छौं ?” आफू अहिले ९० वर्षको भएकाले आफूसँग थोरै समय बाँकी रहेकाले विश्वभर दिगो शान्ति कायम गर्ने चाहना रहेको उहाँको भनाइ छ । म मर्नुअघि विश्वमा दिगो शान्ति कायम भएको देख्न पाएमा मेरो इच्छा र चाहना पूरा हुनेछ, उहाँले भन्नुभयो ।

रोमानियाका तेस्रो राष्ट्रपति डा. एमिल कन्स्टान्टिनेसुले एचडब्लुपीएलको भूमिका शान्ति स्थापनामा महत्वपूर्ण रहेको बताउनुभयो । विश्वका मानिसलाई शान्तिको माध्यमले जोड्न सके विश्व नै बेग्लै हुने उहाँले चर्चा गर्नुभयो । एचडब्लुपीएलले सुरुगरेको अभियानको जति सराहना गरे पनि कम हुने उहाँले बताउनुभयो । युवा र महिलालाई समेटेर एचडब्लुपीएलले शान्ति अभियान सुरु गरेकाले यो सम्भव हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विश्वभरि शान्ति स्थापना गर्ने काम धेरै चुनौती छ, तर हामी सबै एकतावद्ध भएर लाग्यौं भने असम्भव छैन, उहाँले भन्नुभयो, “विश्वभर शान्ति फैलाउन सबै देशले आफ्नो देशको पठन संस्कृतिमा शान्तिलाई स्थान दिनुपर्छ । शान्तिको महत्वबारे सबैलाई बुझाउन सकेमा शान्ति कायम हुन गाह्रो छैन । शान्ति सबैको आत्माबाटै प्रस्फुटन हुनुपर्छ अनिमात्र दिगो शान्ति कायम हुन्छ ।”

मिन्डनाओका बंशामोरो प्रदेशका मुख्यमन्त्री एहोड बी इब्राहिमले फिलिपिन्समा ४० वर्षदेखि जारी रहेको युद्ध एचडब्लुपीएलकै पहलमा अन्त्य भएको स्मरण गर्नुभयो । सो संस्थाले खेलेको भूमिकाले विश्वभरका नागरिकले संस्थाको प्रसंशा गरेको उहाँको भनाइ छ । शान्तिरुपी यस महाअभियानमा हामी सबै हातेमालो गरेर लागेमात्र अध्यक्ष हीको सपना पूरा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

युक्रेनकी प्राध्यापक नाटालिया कुत्सेन्कोले युक्रेन र रुसको युद्धमा लाखौं मानिस विस्थापित भइरहेकाले सो युद्ध रोक्नमा सबैको भूमिका हुनुपर्ने बताउनुभयो । लाखौं युक्रेनीहरु आफ्नो भूमि छाडेर ज्यान जोगाउन अन्य देशको शरणमा जानुपरेको पीडा सुनाउँदै उहाँले शान्तिको पहल गर्न विश्वभरका शान्ति अभियन्ताहरुसँग आग्रह गर्नुभयो । अहिले युक्रेन र रसियामा शान्ति कायम गर्ने आवश्यकता रहेको र एचडब्लुपीएलले खेलिरहेको भूमिका प्रसंशनीय रहेको पनि उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रोफेसर गामल सुलिमान, डा. नेर्गुइ सैन्वीयनसहित एचडब्लुपीएलका पदाधिकारीहरुले शान्तिको आवश्यकता र एचडल्बुपीएलले गरिरहेको कामबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा करिब तीन हजार बढीको सहभागिता थियो । विश्वका विभिन्न देशकाट शान्तिका अभियन्ता, धार्मिक गुरु, पत्रकार तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा एचडब्लुपीएलका अध्यक्ष हीले विभिन्न व्यक्तित्वहरुलाई शान्ति सम्मानबाट सम्मानित गर्नुभयो । शान्ति स्थापनामा गरेको योगदानको कदर गर्दै उहाँहरुलाई सो सम्मान प्रदान गरिएको हो । सोहीअनुसार विभिन्न देशका १८ वटा संघ संस्थाले शान्तिका लागि काम गर्ने प्रतिवद्धतासहित एचडब्लुपीएलसँग सम्झौता गर्नुभयो ।

तपाईको प्रतिक्रिया