सुनसरीको झुम्कामा एकीकृत जितिया पावैन २०८० कार्यक्रमको तयारी


हमार पहुरा डट कम
झुम्का, असोज १८ गते । थारु समुदायका महिलाको विशेष पर्व जितियाको अवसरमा झुम्कामा एकीकृत जितिया पावैन कार्यक्रमको तयारी गरिएको छ । थारु संस्कार संस्कृतिको प्रवर्धन तथा पुस्तान्तरणको लक्ष्यसाथ कार्यक्रमको तयारी गरिएको आयोजक संस्थाले जनाएको छ ।

रामधुनी १, जितमहान चोकमा हुने कार्यक्रम थारु कल्याणकारिणी सभा रामधुनी नगर समिति, थारु महिला उत्थान समाज, थारु चलचित्र तथा सांस्कृतिक संघ र थारु महिला सभा सुनसरीको संयुक्त आयोजनामा हुन लागेको हो । जितिया पर्व २० गते शनिबार रहे पनि दरखाने कार्यक्रम (ओडघन) कार्यक्रम शुक्रबार रहेको थारु महिला उत्थान समाजका संस्थापक अध्यक्ष तथा थाकस रामधुनी नगर समितिका उपाध्यक्ष सीता थरुनीले बताउनुभयो ।

जितिया पर्वमा महिलाले निराहर ब्रत बसी घरका सदस्यहरुको दीर्घायूको कामना गर्ने गर्छन् । कार्यक्रममा थारु सांस्कृतिक प्रस्तुतिसँगै पुस्ता हस्तान्तरणको काम हुने आयोजकको भनाइ छ । थारु मौलिक परम्पराको रुपमा रहेको जितिया पर्वमा थारु दिदीवहिनीले रामरमाइलो गरी संयुक्त रुपमा मनाउने गर्छन् ।

थारु संस्कार, संस्कृतिको प्रचारप्रसार, प्रवर्धन तथा युवापुस्तालाई संस्कारबारे जानकारी दिने लक्ष्यसाथ जितिया पावैन कार्यक्रम गर्न लागिएको थरुनीले बताउनुभयो । हरेक वर्ष जितिया पर्व मनाइने भए पनि यस वर्ष संयुक्त रुपमा विशेस कार्यक्रमको आयोजना गरी मनाउन लागिएको उहाँको भनाइ छ । जितिया पर्व खासगरी पूर्वी तराईमा बसोबास गर्ने थारु दिदीवहिनीले विशेष रुपमा मनाउने प्रचलन रहेको छ ।

तपाईको प्रतिक्रिया