हमार पहुरा डट कम
झुम्का,असोज २० गते । झुम्काको जितमहान चोकमा थारु एकीकृत जितिया पावैन २०८० भव्यरुपले सम्पन्न भएको छ । थारु पहिचानका लागि साँस्कृतिक कला प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । थारु दिदीवहिनीहरुले निराहार व्रत बसी सन्तानको सुख शान्तिका लागि मनाइने यस पर्वको अवसरमा कार्यक्रम गरिएको हो ।
थारु कल्याणकारिणी सभा (थाकस) नगर समिति रामधुनीको आयोजनामा थारु समुदायमा पौराणिक कालखण्डदेखि रहेको परम्परागत सांस्कृतिक प्रस्तुती गरिएको छ । रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जितियाका व्रतालुहरुले विधिपूर्वक जीतमहानको पूजा गरेका थिए । प्रमुख अतिथी चौधरीले फूल अक्षताले पूूजापाठ गरी कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।
नगर प्रमुख चौधरीले थारुहरुमा आफनै मौलिक परम्परा, संस्कार, संस्कृति भएकै कारण थारुको अलग्गै पहिचान कायम हुन सम्भव भएको बताउनुभयो । मौलिक परम्परा, संस्कार, संस्कृति थारु समुदायको पहिचानलाई कायम राख्न यस्ता कार्यक्रम नियमित हुनुपर्र्ने उहाँले सुझाव दिनुभयो । रामधुनी नगरमा ४२ प्रतिशत थारु समुदाय उच्च मनोबलका साथ एकतागरी थारु समुदाय अगाडी बढ्नुपर्ने भन्दै नगरपालिकाको तर्फबाट साथ र सहयोग रहने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
जितिया पर्वको अवसरमा शुुभकामना दिनुुहुुँदै नगर उपप्रमुख तारा थापाले थारु समुदायको पर्व, मौलिक संस्कार निरन्तर संरक्षणमा लाग्नुपर्ने बताउनुुभयो । थारु समुदायको ऐतिहासिक धरोहर ग्रामथान संरक्षण गर्न नगरपालिकाले आवश्यक सहयोग जारी राख्ने बताउनुभयो ।
थारु कल्याणकारिणी सभा रामधुनी नगर सभापति राजकुमार चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा धुम्रानाच, जटजाटिन, झुमैर, बिरहैन, फोकरा मौलिक परम्पराका कलाहरु प्रस्तुत गरिएको थियो । यसैगरी जितिया गीतमा बालकलाकारहरुले नृत्य प्रस्तुत गरी कार्यक्रममा रौनक बढाएका थिए । कार्यक्रममा थारु परिकार तेलपौर रोटी, बगियाको व्व्यवस्थापन गरिएको थियो ।
पूर्व प्रदेश सांसद नवोदिता चौधरीले जितिया पर्वको शुुभकामना दिनुुहुँदै थारु समुदायले अबका दिनहरुमा शिक्षाको स्तर बढाउनुु पर्ने बताउनुभयो । शिक्षाको स्तर बढाउन सकेमात्र आर्थिक स्तर बढ्ने र आर्थिक स्तर बढ्न सके समुदायको स्तर बढ्ने उहाँको भनाइ छ ।
रामधुनी वडा १ का वडा अध्यक्ष महेश चौधरी, वडा ९ का वडा अध्यक्ष घनश्याम चौधरी, निवर्तमान उपमेयर सबिना चौधरी, नेपाली कांग्रेस रामधुनी नगर समिति अध्यक्ष सुदिप अधिकारी, थारु महिला सभा रामधुनी नगर समिति सभापति लिलि चौधरीले जितिया पर्वको अवसरमा व्रतालुहरुमा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक तथा थारु महिला उत्थान समाजकी अध्यक्ष आशा चौधरीले उपस्थित अतिथीलगायत व्रतालुहरुको स्वागत गर्नुभयो । यसैगरी कार्यक्रम संचालन थारु कल्याणकारिणी सभा नगर सचिव जनक चौधरी, उपसभपति सिता थरुनी, उपसभापति सनम चौधरीले गर्नुभएको थियो ।
कार्यक्रमको मूूल आयोजक थारु कल्याणकारिणी सभा नगर समिति रामधुनी रहेको थियो । अन्य आयोजकमा थारु महिला सभा रामधुनी नगर समिति, थारु महिला उत्थान समाज, रामधुनी सुनसरी र थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरी रहेको थियो ।