कृषि प्राविधिक अध्ययनका लागि इजरायल गएका कैलालीका आशिषको मृत्यु


हमार पहुरा डट कम
धनगढी, असोज २२ गते । कैलालीको जोशीपुर गाउँपालिका –५ मैनापोखरीका २५ वर्षीय आशिष् चौधरीको इजरायलमा मृत्यु भएको छ । कृषि प्राविधिक कोर्स अध्ययनका लागि इजरायलमा रहनुभएको चौधरीको हमास विद्रोही समूहको आक्रमणबाट मृत्यु भएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनरत आशिषको यो वर्ष अन्तिम सेमेस्टर थियो । परीक्षा दिएर रिजल्टको पर्खाइमा रहनुभएको थियो । पढाइ सकिएपछि आशिष् र उहाँको मिल्नेसाथी जोशीपुर –५ सिमरानाका कृषि प्राविधिक अभिमन्यु चौधरीले मिलेर कैलालीमा कृषि अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना बनाउनुभएको थियो । ‘अर्न एण्ड लर्न’ कार्यक्रममार्फत आशिष इजरायल जानुभएको थियो ।

कृषिसम्बन्धी ज्ञान सिक्नका लागि गत भदौ २६ गते इजरायल उड्नुभएका उहाँ अब कहिल्यै नफर्किने गरी बिदा हुनुभएको छ । शनिबार इजरायलमाथि भएको हमास नामक विद्रोही समूहको आक्रमणमा परी चौधरीको निधन भएको थियो । एक्ला छोरा गुमाएपछि आशिषको परिवार विक्षिप्त बनेको छ । गाउँवासी, छिमेकी, इष्टमित्र सबै शोकाकुल बनेका छन् ।

“साथीको मृत्यु भएको खबर अझै पनि विश्वास लागिरहेको छैन” कृषि प्राविधिक एवम् आशिषका साथी अभिमन्यु चौधरीले भन्नुभयो, “यो खबरले उहाँको परिवार र हामी इष्टमित्र सबै मर्माहत भएका छौँ ।”

भविष्यका लागि बनाएका योजना र देखेका सपनाहरू साथीको मृत्युले चकनाचुर भएको अभिमन्यु चौधरीले बताउनुभयो । “साथी, इजरायल गएपछि पनि हाम्रो भविष्यको योजनाबारे कुरा भइरहन्थ्यो” उहाँले भन्नुभयो, “तर, एकाएक मृत्युको खबरले सबै योजना समाप्त भयो ।” उहाँले आशिष् र आफूले मिलेर कैलालीमा कृषि अनुसन्धान केन्द्र खोल्ने देखेको सपना अधुरै रहने बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि क्याम्पस टीकापुरबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका चौधरीसहित १० जना विद्यार्थीको हमास आतङ्कवादी आक्रमणबाट निधन भएको छ । ज्यान गुमाउनेमा सुदूरपश्चिम प्रदेशका सात जना छन् ।

तपाईको प्रतिक्रिया