जमरा राखेपछि दशैंको रौनक सुरु, थारु गाउँमा सखिया नाचको चहलपहल


हमार पहुरा डट कम
धनगढी, असोज २८ गते । आज घटस्थापनाको अवसरमा जमरा राखेपछि औपचारिक रुपमा दशैं शुभारम्भ भएको छ । दशैं नजिकिएसँगै थारु गाउँबस्तीमा भने सखिया नाचको माहौल छ । दसैंलाई लक्षित गरी पश्चिम नेपालका थारु गाउँबस्तीसहित कैलाली, कञ्चनपुरका थारुले पनि आ–आफ्ना गाउँमा सखिया नाच नाचेर गाउँ गुञ्जयमान बनाएका छन् ।

यो नाचको पैँयाले साँझपख थारु बस्ती गुल्जार भइरहेको छ । मादलको तालमा थारु युवतीहरु कम्मर मर्काउँदै सखिया नाच नाच्ने गर्छन् । केही वर्षको अन्तरालपछि आफ्नो गाउँमा पुनः सखिया नाच हुन थालेपछि खुशीयाली बढेको कैलारी गाउँपालिका –३ खोनपुरका सुजित चौधरीले बताउनुभयो ।

“२०–२५ वर्षपछि गाउँमा सखिया नाच भइरहेको छ” उहाँले भन्नुभयो, “नाचले यो पटक गाउँ गुल्जार बनेको छ ।” सखिया नाच दसैं – तिहारको अवसरमा थारु समुदायका महिलाले सामूहिक रुपमा नाच्ने परम्परागत नृत्य हो । यो नाच मादल र मजिराको तालमा विभिन्न तरिकाले नाचिन्छ । सखिया नाच नभएको गाउँको दशैं सुनसानझैं हुन्छ ।

सखिया नाच्ने सिजनमा खेतीपातीको काम पनि हुनेगरेको छ । दिनभरी खेतमा काम गरेर थाकेका स्थानीयले साँझपख सखिया नाच नाचेर, हेरेर थकाइ मार्ने गरेका छन् । नाचको कारण गाउँमा रौनक थपिएको चौधरीले बताउनुभयो ।

साथीसङ्गीहरु मिलेर सामूहिक रुपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिएको हो । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी अर्थात् साथीहरु मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको हो ।

अहिले सबैजसो थारु गाउँमा साँझको खाना खाएपछि राति सखिया नाच नाच्ने गरिएको छ । कैलालीको रामपुर, भाडा, खुरखुरिया, पृथ्वीपुर लगायतका गाउँमा पनि सखिया नाच चलिरहेको छ । सखिया नाचमा विशेषगरी पैँया लाग्ने र कान्हा (कृष्ण भगवान) को कथासँग सम्बन्धित गीत गाउने गरिन्छ ।

सखियाको रौनक, प्रेम, सद्भाव, माया र सौहार्दता अत्यन्त प्रिय र आनन्द अनुभूति गराउनेखालको हुने थारु संस्कृतिका जानकारहरुले बताउने गरेका छन् । सखिया नाच दशैंपछि तिहारसम्म नाच्ने प्रचलन छ । देवता बसाए (मनाए) पछि यो नाच अन्त्य गर्ने प्रचलन थारु गाउँमा छ ।

तपाईको प्रतिक्रिया