पूर्खाको संघर्षबाट प्राप्त उपलब्धी दस्तावेजीकरण गर्दै जानुपर्छ : पूर्वमन्त्री चौधरी


हमार पहुरा डट कम

सुनसरी, कात्तिक ३ गते । पूर्वमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य भगवती चौधरीले थारु भाषा साहित्य र सामाजिक तथा राजनीतिक अधिकारका लागि पूर्खाहरुले ठूलो योगदान गर्नुभएकाले त्यस गाथालाई लिपिबद्ध गर्दै जानुपर्ने बताउनुभएको छ ।

थारु आयोगले यहाँ गरेको थारु भाषा र संस्कृतिको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । थारु समुदायका पुर्खाको योगदान र बलिदानले तराईको भूमि बस्नलायक बनेकाले अगुवाहरुले गरेको विभिन्न कालखण्डको योगदानलाई सदैव स्मरण गर्नुपर्ने उहाँको सुझाव छ ।

“हामीले पूर्खाहरुको वलिदानलाई बिस्र्यौ भने इतिहासले हामीलाई सराप्ने छ । हाम्रा पूर्खाहरुले गरेका संघर्षलाई दस्ताबेजीकरण गर्नु आवश्यक छ” पूर्वमन्त्री चौधरीले भन्नुभयो । थारु आयोगले आफ्नो ठाउँबाट थारु पूर्खाहरुले गरेको योगदानको खोज अनुसन्धान गराएर दस्तावेजीकरणमा ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

आयोगका सदस्य भोलाराम चौधरीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा थारु भाषा, साहित्य तथा संस्कृतिको संरक्षण तथा प्रवर्धनको उपायबारेमा छलफल भएको आयोगका सदस्य चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा गवनसिंह चौधरीले सो विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमा थारु कल्याणकारिणी सभा (थाकस) सुनसरीका जिल्ला सभापति सुरेन्द्र चौधरी, भूपु पालिका उपाअध्यक्ष राजकुमारी चौधरी, हौली परिवारका अध्यक्ष श्रवण सुथियार, थारु अगुवाहरु दुखाराम चौधरी, लक्ष्मीनारायण चौधरी, सुमित्रा चौधरी, रन्धुलाल चौधरीलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

थारु भाषा साहित्य, सामाजिक, आर्थिक तथा राजनीतिक अधिकारका लागि थारु स्वयम् सचेत हुनुपर्ने सुझाव वक्ताहरुको थियो । नेपालको सांस्कृतिक विकास र संरक्षणमा राज्यको लगानी न्यून रहेकाले त्यसमा बढोत्तरी गरी सबै जातजाति तथा समुदायको सांस्कृतिक अधिकार सुनिश्चित गर्नुपर्ने माग उहाँहरुको थियो ।

कार्यक्रममा महिला सभाका अध्यक्ष तथा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय पालिकाका जनप्रतिनीधि र स्थानीयको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया