दुई मोटरसाइकल एकआपसमा ठोक्किएर सुमन चौधरीको मृत्यु


हमार पहुरा डट कम
धनगढी, मंसिर १४ गते । कैलालीको बर्दगोरिया गाउँपालिकामा दुई मोटरसाइकल एकापसमा ठोक्किदा सुमन चौधरीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँनजिक महेन्द्र राजमार्गमा मोटरसाइकल ठोक्किएर बुधबार साँझ दुर्घटना भएको थियो । सुमन चौधरी थारुले चलाएको से ७ प ५३४७ र लवकुश चौधरीले चलाएको सुदूरपशिचम प्रदेश ०१००१० प १९०२ नम्बर को मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको कैलाली प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका –२ का २५ वर्षीय सुमन चौधरी थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते भएका बर्दगोरिया–२ कुम्भियाका ४९ वर्षीय लवकुश चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

पछिल्लो समय मोटरसाइकल चालकले अनियन्त्रित ढंगले मोटरसाइकल चलाउँदा दुर्घटना बढेको प्रहरीको भनाइ छ । ट्राफिक प्रहरीले चालकलाई नियमअनुसार मोटरसाइकल चलाउन आग्रह गरेको छ । तिव्र गतिका कारण अधिकांश दुर्घटनाहरु हुनेगरेको कैलाली प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया