पत्रकार लक्की चौधरीलाई सत्यनारायणबहादुर प्रेस स्वतन्त्रता सेनानी पुरस्कार


हमार पहुरा डट कम
काठमाडौँ, पुस ११ गते । स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार २०८० पत्रकार लक्की चौधरीलाई प्रदान गरिने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको बुधबार बसेको सचिवालय बैठकले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यस वर्ष पहिलो पटक सो पुरस्कारको स्थापना भएको हो । अब सो पुरस्कार हरेक वर्ष पुस १३ गते श्रेष्ठको जन्मदिन पारेर प्रदान गर्ने निर्णय भएको दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । स्वर्गीय श्रेष्ठको १०८ औं जन्मजयन्तीको अवसरमा आउने शुक्रबार एक समारोहबीच सो पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । सो पुरस्कारको राशि २५ हजार रुपियाँ नगद र सम्मानपत्र रहेको छ ।

तत्कालीन नेपाल पत्रकार संघ र आजको नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठ रहेको गृष्मबहादुर देवकोटासहित विभिन्न लेखकले लेखे पनि महासंघले अहिलेसम्म उहाँलाई संस्थापक स्वीकार गरेको छैन । श्रेष्ठले आफ्नै नेतृत्वमा २००८ साल वैशाख ९ गते तत्कालीन नेपाल पत्रकार संघ स्थापना गरी नेपाली पत्रकारलाई संगठित गर्नुभएको थियो । एक वर्षपछि २००९ वैशाख २८ गते भएको अर्को भेलाले श्रेष्ठकै नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको विभिन्न लिखतबाट पुष्टि भएको छ ।

तत्कालीन पत्रिका ‘नेपाल टुडे’ का सम्पादक श्रेष्ठले गठन गर्नुभएको नेपाल पत्रकार संघको निरन्तरता आजको महासंघ भएको नेवा दबूको दाबी रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । वि।सं। २०१२ चैत १६ गते ‘नेपाल पुकार’ का तत्कालीन सम्पादक एवं सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराई उपाध्यायले पुनर्गठन गर्नुभएको नेपाल पत्रकार संघलाई महासंघले स्थापना दिवस मनाएकोमा दबूको आपत्ति रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । दबूले वि।सं। २००८ वैशाख ९ गते स्थापना भएको संघलाई मान्यता दिइ ९ गतेलाई महासंघको स्थापना दिवस मनाउनुपर्ने माग गर्दैआएको छ । महासंघले चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा श्रेष्ठलाई स्थापित गर्न माग गर्दै पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दैआएको पृष्ठभूमिमा सो पुरस्कार स्थापना गरिएको दबूले जनाएको छ । सो अभियानमा सक्रिय योगदान गर्दै आउनुभएका पत्रकार चौधरीको मूल्याङ्कन गर्दै उहाँलाई सो पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले चौधरीको नाम पुरस्कारको लागि सिफारिस गरेको थियो । समितिले गरेको सिफारिसलाई सचिवालयले अनुमोदन गरेको हो।

पत्रकार चौधरीले २०७२ सालदेखि स्वर्गीय श्रेष्ठका बारेमा खोजगरी निरन्तर लेख, रचना पत्रपत्रिकामा प्रकाशन गर्दै आउनुभएको छ । नेपाल पत्रकार महासंघको इतिहासलाई पुनःलेखनको माग गर्दै सार्वजनिक बहस र विमर्श गर्दै आउनुभएका पत्रकार चौधरीको योगदानको कदर गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको दबूले जनाएको छ । पत्रकार चौधरीले संस्थापक विषयमा प्रेस काउन्सिल नेपालको मुखपत्र संहिताको २०७२ पुसमा प्रकाशित अङ्कमा लेख प्रकाशन गर्नुभएको थियो ।

त्यस्तै, प्रेस चौतारी नेपालले २०७३ सालमा प्रकाशित गरेको मुखपत्र ‘चौतारी’ मा पनि उहाँले ‘नेपाली पत्रकारिताको बहस र यथार्थ’ शीर्षकमा लामो लेख लेख्नुभएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाट हालै प्रकाशित सत्यनारायणबहादुर श्रेष्ठ विशेषाङ्कमा पनि पत्रकार चौधरीले संस्थापक बारेमा रचनात्मक आलेख प्रकाशन गर्नुभएको छ ।

त्यससँगै उहाँले विभिन्न सार्वजनिक कार्यक्रममा संस्थापक विषयमा बहस गर्दै आउनुभएको छ । गोरखापत्र दैनिकमा २०६६ माघ २७ देखि कार्यरत उपसम्पादक चौधरी नियमित रुपमा सिर्जनात्मक लेख रचनाहरु प्रकाशन गर्दै आउनुभएको छ । चौधरी नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया