पत्रकार लक्की चौधरीलाई सत्यनारायणबहादुर प्रेस स्वतन्त्रता सेनानी सम्मान


हमार पहुरा डट कम
ललितपुर, पुस १३ गते । यस वर्षको ‘सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान २०८०’ बाट गोरखापत्रका उपसम्पादक लक्की चौधरी सम्मानित हुनुभएको छ । नेवा : पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०८ औं जन्म दिवसको अवसरमा आज उहाँलाई सम्मानित गरेको हो ।

कार्यक्रममा दबूले नगद २५ हजार रुपियाँ र सम्मानपत्रले चौधरीलाई सम्मानित गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा एभिएम (आदर्श विद्या मन्दिर) का प्रिन्सिपल सुजिता मानन्धरले संयुक्त रुपमा उहाँलाई सम्मानित गर्नुभयो ।

सो अवसरमा सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगितामा विजयी टिमलाई पनि सम्मानित गरिएको छ । सो अवसरमा नेवा ः पत्रकार राष्ट्रिय दबूको चितवन शाखा प्रथम र काठमाडौं शाखा दोस्रो, नेवा : कलाकार टिम तेस्रो स्थान प्राप्त गरेको थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तत्कालीन नेपाल पत्रकार संघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई अहिलेको नेपाल पत्रकार महासंघको संस्थापक स्वीकार नगरी उहाँप्रति अन्याय भएको बताउनुभयो । आफ्नो इतिहासको निक्र्यौल नगरी पत्रकारको छाता संगठन अरुका निम्ति काम गर्न नसक्ने बताउनुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “महासंघको संस्थापक अध्यक्ष रहेको उहाँको नामजस्तै सत्य हो, उहाँलाई संस्थापक स्वीकार गरी न्याय गरिनुपर्छ ।”

नेवा : दबूको यस अभियानमा काउन्सिलको साथ र सहयोग रहने उहाँले विश्वास दिलाउनुभयो । पत्रकारितामा विश्वसनीयता अनिवार्य रहेकाले पत्रकारले आफ्नै संस्थापकप्रति न्याय गर्न नसक्नु लाजमर्दो कुरा भएको उहाँले टिप्पणी गर्नुभयो ।

एभिएम कलेजका प्रिन्सिपल तथा सत्यनारायणबहादुर श्रेष्ठका छोरी सुजिता मानन्धरले बुवाप्रति पत्रकार जगतले न्याय गर्न नसकेको गुनासो गर्नुभयो । मुलुकको प्रजातन्त्र जटिल अवस्थामा रहेका बेला पत्रकारलाई संगठित गरी अगाडि बढ्नुभएका सत्यनारायणबहादुरको अभियान महत्वपूर्ण रहे पनि पत्रकार जगतले त्यसको महत्व बुझ्न नसकेको देख्दा दुःख लाग्नेगरेको उहाँले दुःखेसो पोख्नुभयो ।

सत्यलाई सत्य भन्न नसक्ने हो भने पत्रकारिताप्रति नागरिकको विश्वास कायम हुन नसक्ने उहाँको भनाइ छ । बुवाको इमान्दारिताका कारण अरुले उहाँप्रति अन्याय गर्नेगरेको चर्चा गर्नुहुँदै मानन्धरले भन्नुभयो, “नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारका लागि बुवाले ठूलो काम गर्नुभयो तर त्यसको मूल्याङ्कन हुन नसक्दा दुःख लाग्छ, एक दिन अवश्य सत्यको जित हुनेछ ।”

सम्मानित पत्रकार लक्की चौधरीले वि.सं. २००८ वैशाख ९ गते गठित तत्कालीन नेपाल पत्रकार संघकै निरन्तरता आजको महासंघ भएकाले इतिहास पुनर्लेखन आवश्यक रहेको बताउनुभयो । मुलुकमा प्रजातन्त्रको उदय भएताका संवेदनशील समयमा पत्रकारलाई संगठित गरी संघ गठन गर्नु त्यतिबेला ठूलो चुनौतीको विषय रहेको चर्चा गर्नुहुँदै उहाँले आफ्नै संस्थापकमाथि ७२ वर्षसम्म न्याय गर्न नसक्ने नेपाली पत्रकारको असफलता भएको बताउनुभयो । श्रेष्ठलाई संस्थापक अध्यक्ष स्वीकार नगर्दासम्म महासंघको इतिहास अधुरो रहने उहाँको तर्क छ ।

महासंघको संस्थापक श्रेष्ठ रहेको विषय नेपाली आमपत्रकार तथा महासंघका पदाधिकारी तथा सदस्य सबैलाई जानकारी रहेको उहाँले दावी गर्नुभयो । महासंघले तत्काल अध्ययन समिति गठन गरेर संस्थापक अध्यक्षको विषय टुङ्गो लगाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

नेवा : पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सुनिल मानन्धर, राजु नापित, केके मानन्धरलगायतले श्रेष्ठलाई महासंघको संस्थापक कायम गर्न माग गर्नुभयो । श्रेष्ठलाई संस्थापक कायम गर्नमा दबाब दिने उद्देश्यले पत्रकार पुरस्कार स्थापना गरी अभियान सुरु गरिएको दबूको भनाइ छ ।

तपाईको प्रतिक्रिया