शान्तिका पर्याय भनेर सिद्धार्थ गौतम बुद्धलाई चिनिन्छ । भगवान बुद्ध नेपाली भूमिमा जन्मेर विश्वभर शान्तिको दीप उज्ज्वलित गराउनुभयो । हामी नेपालीको पहिचान र सम्मान त्यही हो, लाग्छ । बुद्ध भन्नाले बोधिप्राप्त अथवा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव भनेर बुझिन्छ । बुद्धबारे धेरै चर्चा गरिरहनु परेन । बरु शान्तिबारे घोट्लिन सके मनमा थोरै भए पनि शान्ति प्रादुर्भाव हुन सक्छ । प्रज्ञा नेपाली बृहत् शब्दकोषले ‘शान्ति’ भनेको ‘शान्त वा स्थिर अवस्था, सुखदुःख हर्ष विस्मात रिस आदि मनोभावनाले नबिथोलिएको मानसिक स्थिति, होहल्ला रडाको आदि नभएको अवस्था, दोस आदिको निबृत्ति, मनमा कुनै दुःखपिर नहुने आधारहित अवस्था, सांसारिक भोगप्रतिको विरक्ति, सहने काम, भोकतिर्खा श्रमताप घामपानीको शमन’ भनेको छ ।
बुद्धले आफूलाई भगवान नभन्न भन्नुभएको थियो । तर हामी उहाँलाई भगवानको संज्ञा दियौं ।
बुद्धले आफूलाई भगवान नभन्न भन्नुभएको थियो । तर हामी उहाँलाई भगवानको संज्ञा दियौं । विष्णु भगवानको एक अवतारको रुपमा मान्यौंं । गौतम बुद्ध एक राजकुमार हुनुहुन्थ्यो । उहाँसँग राजसी सुख थियो । भौतिक रुपले नपुगेको उहाँसँग केही थिएन । तर पनि उहाँ शान्तिको खोजीमा लाग्नुभयो । अर्थात् उहाँले भौतिक रुपले देखिने सुख, विलासितालाई शान्ति ठान्नु भएन । आध्यात्मिक र दिगो शान्ति भएमात्र मानव दुःखरहित, चिन्तारहित शान्ति प्राप्त गर्न सक्छ भन्ने उहाँलाई लाग्यो । दुःखको निवारण गरी सत्मार्गको बाटो रोज्नुभयो । राजसी गृहत्याग गरेर तपस्या गर्न हिँड्नुभयो । जुन कष्टदायक मार्ग थियो । बोधगयामा वृक्षको मुनि लामो अन्तध्र्यान गरेर उहाँलाई सम्यक सम्बोधि प्राप्त भयो । सो ज्ञान बाँड्न उहाँ विभिन्न ठाउँमा पुग्नुभयो । प्राप्त ज्ञानबारे अरुलाई जानकारी गराउनुभयो । उहाँको लक्ष्य भनेकै सांसारिक मोह त्याग गरी मनको शान्ति, हृदयको शान्तिबाट संसारलाई शान्त बनाउन सकिन्छ भन्ने थियो । उहाँले त्यही गर्नुभयो र शान्तिको पर्याय बन्नुभयो ।
बुद्धले भन्नुभएको छ, ‘बलिरहेको एक दियोबाट हजारौं लाखौं बत्ति बाल्न सकिन्छ, तर पनि सो दियोको प्रकाश कम हुँदैन । यसैगरी खुशी र शान्ति बाँड्दा कहिल्यै कम हुँदैन, बरु बढ्छ ।’ दियोको प्रकाश र शान्ति उस्तै चिज हो । जुन प्रकाशले केवल उज्यालो दिन्छ, शान्तिले केवल अन्तरदृहयमा शान्ति दिन्छ । एकबाट अर्कोलाई जोड्छ । हामी गौतम बुद्धको बेहद गुनगान गाउँछौं । बुद्धको जन्मप्रति गौरव गर्छौं । तर बुद्धको बाटो पछ्याउँदैनौं । सायद अलौकिक शान्तिसम्म हामी पुग्न नसक्नुको कारण यही होला ।
नेपाल चिनाउने आधार
सन् २०२३ सेप्टेम्बर १८ देखि २० (असोज १ देखि ३ सम्म) दक्षिण कोरियाको इन्चोन शहरमा विश्व शान्ति शिखर सम्मेलनको आयोजना गरिएको थियो । दक्षिण कोरियाको राजधानी सिवलमा रहेको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेभन्ली कल्चर, वल्र्ड पिस रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले सो सम्मेलनको आयोजना गरेको थियो । सन् २०१३ बाट विश्व शान्तिका लागि विश्वभर सचेतना फैलाउन अग्रणी अभियान गर्दैआएको सो संस्थाको कार्यक्रममा विश्वभरबाट दुई हजार बढी प्रतिनिधि सहभागी थिए । नेपालबाट मिडियाकर्मीको हैसियतमा पङ्तिकार पनि सहभागी हुने अवसर पाएको थियो । नेपालबाट तीन जनाको सहभागिता थियो । चार दिन कोरियामा रहँदा नेपाललाई चिनाउने प्रमुख दुई आधार थिए । हामीले त्यहीं ग¥यौं । सायद नेपाल बाहिर जाने अरुले पनि त्यही गर्छन् होला । पहिलो– गौतम बुद्ध नेपालमा जन्मेका थिए, हामी त्यही देशका नागरिक नेपाली हौं । दोस्रो– संसारको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेष्ट (सगरमाथा) हाम्रो नेपालमा छ, हामी त्यही देशका नागरिक हौं । यत्ति व्याख्या गरेपछि विश्वको जुन कुनाबाट आएको नागरिकले सजिलै नेपालीलाई चिन्ने रहेछन् । पहिचानको अरु लेबल लगाउन जरुरत नै पर्दैन ।
बुद्धले भन्नुभएको छ, ‘बलिरहेको एक दियोबाट हजारौं लाखौं बत्ति बाल्न सकिन्छ, तर पनि सो दियोको प्रकाश कम हुँदैन ।
शान्तिको माध्यम धर्म
शिखर सम्मेलनमा विश्वका विभिन्न देशबाट आएका धार्मिक गुरुहरुको सहभागिता थियो । धर्मको माध्यमबाट विश्वभर शान्ति फैलाउन सकिन्छ भन्ने उद्देश्यसाथ धर्मगुरुहरुबीच अन्तरक्रिया कार्यक्रम गरिएको थियो । विश्वभरी मान्दैआएका सबै धर्मको साझा लक्ष्य मानवताको सेवा गर्नु र आत्मीय शान्ति कायम गर्ने रहेकाले धार्मिक अभियानमार्फत दिगो शान्ति कायम गर्न सकिने विश्वास धार्मिक गुरुहरुको थियो । सबै धर्मले हातेमालो गरेमा धर्मको माध्यमबाट विश्वलाई शान्तिको मार्गमा जोड्न सम्भव रहेको धार्मिक गुरुहरुको विश्वास सुनाए ।
उसै पनि सबै धर्मको उद्देश्य आपसी प्रेम र विश्वास नै हो । धर्मको माध्यमबाट साझा प्रयास गरेमा विश्वमा दिगो शान्ति कायम गर्न सम्भव छ भन्ने सन्देश सम्मेलनले दियो । एचडब्लुपीएल संस्थाका अध्यक्ष ली मान हीले ईश्वरले शान्ति चाहने भएकाले सबै धर्मको एउटै उद्देश्य शान्ति कायम गर्ने रहेको भनाइ राख्नुभयो । मानवको मनमा शान्ति भएमात्र अन्य काममा सफलता प्राप्त गर्न सकिने उहाँको विश्वास थियो । आफ्नो संस्थाले त्यही अभियान चलाइरहेको चर्चा गर्नुभयो । ‘यदि विश्वभरका धर्मलाई एक मालामा उन्न सक्ने हो भने धार्मिक झैझगडा अन्त्य हुन्छ । धार्मिक झैझगडा साम्य भएमा विश्वभर शान्ति कायम गर्न सम्भव छ’ उहाँको कथन थियो ।
यदि विश्वभरका धर्मलाई एक मालामा उन्न सक्ने हो भने धार्मिक झैझगडा अन्त्य हुन्छ ।
धार्मिक गुरु इब्राहिम डोम्बियाले सबै धर्मका नेतृत्वगणले चाहेमा विश्वमा धार्मिक शान्ति कायम गर्न सम्भव रहेको बताउनुभयो । धर्मले सामाजिक एकता, मानवीय सहिष्णुता बनाउने काम गर्ने हुनाले धर्मको माध्यमबाट दिगो शान्ति सम्भव रहेको उहाँको विश्वास थियो । मानिसमा सत्य ज्ञान प्राप्त भएपछि सबै अज्ञानता स्वतः समाप्त हुने उहाँले बताउनुभयो । थाइल्याण्डका अर्का धार्मिक गुरु सिथावाचमेथीले विश्वभरका धर्मलाई जोड्न् सम्भव रहेको चर्चा गर्नुभएको थियो । सबै धर्मले शान्ति र प्रेमका लागि काम गर्ने हुनाले सबै धर्मलाई एक ठाउँमा ल्याएर विश्वमा शान्ति कायम गर्नुपर्छ उहाँले भन्नुभयो । कुनै पनि धर्मको लक्ष्य मानव सुख र शान्ति भएकाले धर्मले लडाई झगडाको सन्देश प्रवाह गर्नै नसक्ने भनाइ राख्नुभयो । धर्मले धर्मलाई जोड्ने र त्यसले समग्र मानवलाई जोड्न सक्ने उहाँले विश्वास सुनाउनुभयो । त्यसको अगुवाइ एचडब्लुपीएल संस्थालाई गर्न सुझाउनुभयो ।
फिलिपिन्सका धार्मिक गुरु एन्टेनियो जे. एडेस्माले शान्ति र सदभावको द्वार खोल्ने काम धर्मले मात्र गर्न सक्ने भनाइ राख्नुभएको थियो । सबै धर्म आपसी विश्वास र प्रेममा टिकेकाले शान्ति कायम गर्न धर्मको भूमिका महत्वपूर्ण हुने उहाँको सन्देश थियो । विना विश्वास कुनै धर्मको अस्तित्व कायम हुन नसक्ने भन्दै उहाँले विश्वासको माध्यमबाट नै विश्वभर शान्ति फैलाउन सकिने चर्चा गर्नुभयो ।
शान्तिका लागि महिला
विश्व शान्ति शिखर सम्मेलनमा विश्वभरबाट प्रतिनिधित्व गरेका अगुवा महिलाको छुट्टै भेला आयोजना भएको थियो । महिलाको पहलविना विश्वमा शान्ति कायम गर्न सम्भव नरहेको सन्देश प्रवाह भयो । सम्मेलनमा महिला अगुवाहरुले शान्ति कायम गर्नमा महिलाको भूमिका महत्वपूर्ण रहने धारणा राखे । महिलाले परिवार, घर, समाज, देश र विश्वलाई जोड्ने काम गर्ने हुनाले दिगो शान्ति कायम गर्नमा महिलाको सिर्जनात्मक र रचनात्मक भूमिका रहने सन्देश प्रवाह गरियो ।
सम्मेलनमा मालीबाट युनेस्कोका लागि प्रतिनिधित्व गर्दै सम्मेलनमा अएकी डा. कडिया माइगा डिलो, ट्युनेसियाकी पूर्व महिलामन्त्री नजिहा नविदी, महिला विज्ञ लिलियन मास्की, आइडब्लुपीजीकी चार्लिन हुल, मारिया थेरेसा, फिलिपिन्सका रुबी बनारेस भिक्टोरिनो, डा. अहलाम विडोन, लि क्याउसन, बुडी मंचुया लगायतले दिगो शान्तिमा महिलाको भूमिकाबारे चर्चा गरेका थिए । समाज बनाउन जसरी पुरुषभन्दा महिलाको भूमिका बढी हुन्छ, त्यसैगरी दिगो शान्तिका लागि पनि महिलाको सिर्जनात्मक भूमिका रहेको नेतृहरुको दावी थियो । महिलाविनाको संसार परिकल्पना समेत गर्न नसकिने उहाँहरुको बुझाइ थियो ।
दक्षिण कोरिया जहाँका हरेक नागरिकले सैन्य तालिम लिनुपर्छ । के त्यहाँबाट विश्व शान्तिको दीप बाल्न सम्भव छ ?
इन्चोनमा शान्ति दीप
इन्चोन दक्षिण कोरियाको प्रमुख शहरमध्येको एक हो । जहाँको भौतिक विकास हेर्नलायक छ । तर दक्षिण कोरिया जहाँका हरेक नागरिकले सैन्य तालिम लिनुपर्छ । के त्यहाँबाट विश्व शान्तिको दीप बाल्न सम्भव छ ? मनमा जिज्ञासा उठ्छ । दक्षिण कोरियाका पुरुष १८ वर्षको भएपछि अनिवार्य सैनिक तालिम लिनुपर्ने त्यहाँको संवैधानिक र कानुनी व्यवस्था छ । महिलालाई बाध्यात्मक व्यवस्था नरहे पनि स्वयम्सेवक रुपमा जिम्मेवारी निर्वाह गर्नुपर्छ । सैनिक तालिम लिएर ३५ वर्षसम्म त्यहाँका युवाले देशका लागि सेवा गर्छन् । इन्चोनबाट संस्थाका नेतृत्व गणले शान्तिको दीप प्रज्ज्वलित गरिरहँदा पत्रकारले जिज्ञासा गरे– ‘दक्षिण कोरिया र उत्तरकोरियाबीच पानी बाराबारको अवस्था छ, एक देशबाट अर्को देशमा आउनेजाने समेत अनुमति छैन । यहाँबाट कसरी विश्व शान्तिको सन्देश प्रवाह गर्न सम्भव छ ?’ एचडब्लुपीएलका अध्यक्ष ली मान हीले जवाफमा भन्नुभयो, ‘हो अवस्था अहिले तपाईले सोधेको प्रश्नजस्तै छ, तर प्रयास गरेमा असम्भव केही छैन । कमलको बोट पनि हिलोबाट उम्रेर सुन्दर फूल फुलाउँछ । हामी सबै लाग्यौं भने दिगो शान्तिको सुरुवात यहीबाट हुनसक्छ ।’