अधिकार सम्बोधनमा नेतृत्वदायी भूमिका खेल्न थारु आयोगलाई सुझाव


हमार पहुरा डट कम
धनगढी, पुस १९ गते । थारु आयोगका अध्यक्षसहित सदस्यहरुले थारु समुदायको विविध सवालमा प्रदेश, स्थानीय तहका जनप्रतिनिधि र बुद्धिजीवीसँग छलफल गर्नुभएको छ । आज धनगढीमा कार्यक्रम आयोजना गरी आयोगका पदाधिकारीले थारु समुदायका लागि हुनुपर्ने नीतिगत व्यवस्था, समावेशिता, पाउनु पर्ने सेवा सुविधालगायतको विषयमा छलफल गर्नुभएको हो ।

कार्यक्रमका सहभागीले आयोगले राम्रै काम गरे पनि ढिलाइ गर्नेगरेको गुनासो गर्नुभयो । थारु समुदायको विभिन्न सवालमा काम गर्ने आयोग निष्क्रियजस्तै देखिएको सहभागीहरुको भनाइ छ । थारु समुदायले उठाउनुपर्ने अधिकारका विभिन्न सवाल भए पनि आयोगले चाहेजस्तो उठाउन नसकेको उहाँहरुको भनाइ छ ।

कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले आयोग सक्रिय हुन आवश्यक रहेको बताउनुभयो । स्थानीय तहलाई बडघर, भल्मन्सा ऐन निर्माणमा समस्या भइरहेको उल्लेख गर्नुहुँदै उहाँले यस्ता ऐन निर्माणका लागि आयोगले नै प्रत्येक पालिकालाई पत्र पठाएर दबाब सिर्जना गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

यस्तै, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले संविधानले विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गरे पनि यसको कार्यान्वयन नभएको बताउनुभयो । यसलाई कार्यान्वयन गर्न सकेमा धेरै समस्या समाधान हुने उहाँको भनाइ छ । थारु अधिकारका लागि आयोगले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

यसैगरी, थारु अगुवा बलबहादुर डङ्गौराले जनताको गतिभन्दा थारु आयोग धेरै ढिला रहेको बताउनुभयो । आयोगले निर्देशन दिन नसकिरहेको भन्दै उहाँले भन्नुभयो, “आयोगको काम सिफारिस गर्नेमात्र देखिन्छ । आयोगले खासै काम गरेको देखिन्न ।”

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायको क्लस्टर विभाजन हुन नहुने बताउनुभयो । यसैगरी भाषिक रूपमा रानाथारु छुट्टै जनजातिको रूपमा सूचीकृत भए पनि समावेशीकरणको सवालमा थारुभित्रै हुनुपर्ने चर्चा गर्नुभयो । थारु, रानाथारु, कठरिया थारुको जनगणना एउटैमा हुन आवश्यक रहेको अध्यक्ष थारुको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राज्यमन्त्री कैलाश चौधरी, प्रदेश सभा सदस्य गीताकुमारी चौधरी, खुसीराम डगौरा थारु, विभिन्न पालिकामा थारु समुदायबाट प्रतिनिधित्व गर्ने प्रमुख, उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा थारु आयोगका सदस्य सुबोधसिंह थारु र जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले थारु समुदायको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया